कांग्रेसले क्रियाशील सदस्यताको विवाद दुई दिनभित्र यकिन गर्ने
वि.सं.२०८२ मंसिर १७ बुधवार १७:०९
shares

काठमाडौँ । पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कांग्रेसले क्रियाशील सदस्यताबारे कहाँ/कहाँ विवाद छ ? त्यसको बुधबार र बिहीबारमा यकिन गरिसक्ने भएको छ ।
महामन्त्री गगन थापाकाे संयोजकत्वमा रहेकाे क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले दुई दिनमा क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएका समस्या यकिन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य तथा समिति सदस्य प्रकाश स्नेही रसाइलीले विवाद यकिन गर्नका लागि समिति सदस्यहरूलाई प्रदेश अनुसार जिम्मेवारी दिइएको जानकारी दिए । समितिमा केन्द्रीय सदस्यहरू रसाइली, सिता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।
विवादको यकिनका लागि बैठकले रसाइलीलाई लुम्बिनी र मधेस प्रदेश, गुरुङलाई बागमती र गण्डकी प्रदेश तथा चौधरीलाई कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश हेर्ने जिम्मेवारी दिएको छ । उनीहरूले विवाद देखिएका जिल्लामा रहेको विवाद के हो ? समाधानका उपाय के हुन सक्छन् ? त्यसबारे रिपोर्ट प्रस्तुत गर्ने रसाइलीले जानकारी दिए ।
समितिले केन्द्रीय समितिको बैठकको सोमबारको निर्णयको भावनालाई अङ्गीकार गर्दै द्रुत गतिमा महाधिवेशन गर्न सदस्यताको काम सक्नेगरी काम गर्ने निर्णय पनि गरेको छ ।
समितिले क्रियाशील सदस्यता नवीकरणको काम छिटो टुङ्ग्याई नयाँ वितरणका लागि १६५ निर्वाचन क्षेत्रबाटै माग भए अनुसार फाराम पठाउने निर्णय गरेको रसाइलीले जानकारी दिए । शुक्रबारसम्म १६५ निर्वाचन क्षेत्रमा शतप्रतिशत नयाँ क्रियाशील सदस्यता पुर्याइसक्ने निर्णय पनि बैठकले गरेको छ ।
क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन समितिले जिल्ला तहमा रहेका साना विवाद र महामन्त्री थापाले माथिल्लो तहमा सम्पर्क गरेर सहजीकरण गर्ने गर्ने निर्णय पनि बैठकको छ ।
‘अहिले नवीकरण र क्रियाशीलको नयाँको अवस्था के कस्तो छ ? कसरी सहज गराउने ? सुझाव पनि दिने, निर्देशन पनि गर्ने,’ रसाइलीले भने, ‘त्यसमा सामान्य तरिकाले निर्णय गर्न सकिने, नीतिगत निर्णय गर्नुपर्ने छुट्ट्याएर हामीले आज र भोलि प्रतिवेदन तयार पार्ने निर्णय गरेका छौँ ।’
बैठक बिहीबार पनि बस्नेछ । शुक्रबार शुभेच्छुक संस्था र भ्रातृ संस्थाका पदाधिकारीहरूसँग बसेर नयाँ वितरण र नवीकरणलाई अभियानका रूपमा द्रुत गतिमा टुङ्ग्याउन सहजीकरण गर्ने गरी बैठक बस्ने निर्णय समितिको छ । बैठक निरन्तर बसेर जहाँ जहाँ अप्ठ्यारो पर्छ, त्यहीँ त्यही फुकाउँदै अगाडि बढ्ने समितिले निर्णय गरेको छ ।





















