आठ सचिवहरूको सरुवा, मन्त्रालय-निकायको जिम्मेवारी फेरबदल
सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ जना सचिवहरूको सरुवा गरेको छ।
वि.सं.२०८२ मंसिर २३ मंगलवार १९:२९
shares

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ जना सचिवहरूको व्यापक सरुवा गरेको छ।
प्राप्त जानकारी अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा रहेका सचिव कमल पोखरेललाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, तथ्यांकका सचिव मधुसुदन बुर्लाकोटीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ। उद्योग मन्त्रालयका सचिव कृष्ण राउतलाई निर्वाचन आयोगमा खटाइएको छ भने निर्वाचन कार्यालयका सचिव महादेव पन्थलाई अतिरिक्तमा सारिएको छ।
खानेपानी मन्त्रालयकी सचिव प्रमीला देवी बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयतर्फ सरुवा गरिएको छ। यता, नेपाल ट्रस्टका सचिव रामआधार साहलाई पुनः खानेपानी मन्त्रालयमा सचिवका रूपमा जिम्मेवारी तोकिएको छ।
त्यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ भने कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयतर्फ खटाइएको छ।
























