‘केपी ओलीको हात हाम्रो पुस्ताको रगतले रङ्गिएको छ, के तपाईंहरू पनि त्यसको भागीदार बन्न तयार हुनुहुन्छ?’
वि.सं.२०८२ मंसिर २८ आइतवार १३:२२
shares

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन चलिरहेका बेला जेनजी फ्रन्टकी संयोजक रक्षा बमले महाधिवेशन प्रतिनिधिहरूलाई खुला पत्र लेख्दै तत्कालीन सरकारको नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओली र उनको नेतृत्वको नैतिकताबारे गम्भीर प्रश्न उठाएकी छन्।
संयोजक बमले विशेष परिस्थितिमा समयभन्दा एक वर्षअगाडि भइरहेको महाधिवेशनमा प्रतिनिधिहरूले पार्टीको अध्यक्ष र पदाधिकारी मात्र नभई, देशकै ठुलो दलको नेतृत्व छानिरहेको भन्दै उनीहरूको मतको महत्त्वमाथि जोड दिएकी छन्।
उनले एमालेका प्रतिनिधिहरूलाई सेप्टेम्बर ८ अर्थात् भदौ २३ को घटना पुनः स्मरण गराएकी छन्। भदौ २३ एउटा सामान्य मिति नभएको बताउँदै उनले लेखेकी छन्, ‘त्यस दिन तानाशाही व्यवस्थाविरुद्ध, आफ्नो संवैधानिक हकका खातिर संवैधानिक अधिकारको प्रयोग गर्दै, एउटा उमेर समूह अर्थात् जेनजी पुस्ता सडकमा उत्रिएको थियो। तर निरङ्कुश सरकारले निहत्था विद्यार्थीहरूमाथि गोली बर्सायो। कलिला युवाहरू जो सुन्दर भविष्यका सपना देखिरहेका थिए, उनीहरूको हत्या गर्यो।’
उनले तत्कालीन सरकारको नेतृत्व एमाले अध्यक्षले गरेको कुरा पुनः स्मरण गराउँदै एमालेका नेतृत्वकर्ताहरूले उक्त घटनामा एक पटक पनि माफी नमागेको बरु सार्वजनिक अभिव्यक्तिहरूमा गिज्याउँदै र धम्क्याउँदै आक्रमण गराउने प्रयास गरिरहेको आरोप लगाएकी छन्।
रक्षा बमले प्रतिनिधिहरूको नैतिकता र देशप्रेम को परख भइरहेको बताउँदै सबै भन्दा प्रमुख प्रश्न सोधेकी छन्, ‘केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रङ्गिएको छ, के त्यो रगतको भागीदारिता तपाईंहरू पनि वहन गर्न तयार हुनुहुन्छ?’
उनले यो एमाले पार्टीलाई सच्याउने र प्रतिनिधिहरू पनि सच्चिएर ‘युगान्तकारी परिवर्तनको संवाहक’ बन्ने अन्तिम अवसर हुनसक्ने बताएकी छन्। यदि यो अवसर गुमाएमा पार्टीमात्र नभई देशको भविष्य नै अन्धकार हुने चेतावनी दिएकी छन्।
अन्तमा, उनले प्रतिनिधिहरूलाई आग्रह गर्दै भनेकी छन्, ‘तपाईंहरूको मन एकातिर मत एकातिर नहोस्। यसपटक यस्तो नेतृत्व छनोट गर्नुस् जसले फेरि भदौ २३ ननिम्त्याओस्।’























