दलको नेता छलफलबाटै टुङ्ग्याउन नेकपा कर्णालीका सांसदलाई प्रचण्डको निर्देशन
वि.सं.२०८२ मंसिर २८ आइतवार १४:२४
shares

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन् ।
शनिबार आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डसहित सहसंयोजक माधवकुमार नेपाल र नेता कालिबहादुर मल्लको उपस्थितिमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बसेको थियो ।
उक्त बैठकमा संयोजक प्रचण्डले दलको नेता चयन र आगामी रणनीतिका विषयमा विशेष चासो राखेका हुन् । कर्णालीमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिच एकता भई ‘नेकपा’ मा रूपान्तरण भए पनि हालसम्म संसदीय दलका पदाधिकारी चयन हुन सकेका छैनन् ।
‘पदाधिकारी चयनको विषय दलभित्रकै छलफल र सहमतिका आधारमा टुङ्ग्याउनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांसद कृष्णबहादुर जिसीले भने, ‘अब प्रतिपक्षमा रहँदा सोही अनुसारको भूमिकालाई प्रभावकारी बनाउन लाग्नुस् ।’
प्रचण्डले सकेसम्म संसदीय दलको नेता र पदाधिकारीको चयन संसदीय दलकै छलफलबाट टुङ्गोमा पुर्याउन निर्देशन दिएका छन् । यदि सहमति नजुटेको खण्डमा प्रदेश पार्टी कमिटीले जिम्मेवारी लिएर निर्णय गर्ने उनको भनाइ छ ।
‘दलले तल्लो तहबाट जे निष्कर्ष निकाल्छ, त्यसैका आधारमा केन्द्रले धारणा बनाउने हो,’ प्रचण्डले भने, ‘माथिबाट छुट्टै लाद्ने वा अलग धारणा बनाउने भन्ने हुँदैन ।’
बैठकमा सहभागी सहसंयोजक माधवकुमार नेपालले भने यसबारे कुनै औपचारिक धारणा राखेनन् । उनीसँग सांसदहरूको परिचयात्मक कार्यक्रममात्र भएको जिसीले जानकारी दिए । जिसीका अनुसार, पदाधिकारी चयनको विषयमा अब छिटै छलफल अघि बढाइने छ ।
दुई दलको एकतासँगै कर्णाली प्रदेश सभामा नेकपा दोस्रो शक्ति मै सीमित छ । यहाँ समाजवादीका जम्मा १ सांसद छन् भने माओवादीका १३ जना छन् ।
संसदीय दलको नेताका लागि सांसदहरू विन्दमान विष्ट, कृष्णबहादुर जिसी, मंगल शाही, महेन्द्र केसी र दुर्ग रावतलगायतले दाबी प्रस्तुत गरेका छन् ।






















