सुर्खेत प्रदेश अस्पतालमा बीमाको रकम हिनामिना मुद्दामा तीन जनालाई २ वर्ष कैदको फैसला
वि.सं.२०८२ पुस १८ शुक्रवार १५:४८
shares

काठमाडौं । सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्य बीमातर्फ रकम हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले तीन जना प्रतिवादीलाई दोषी ठहर गर्दै जनही दुई वर्ष कैद सजाय सुनाएको छ । साथै अदालतले उनीहरूबाट २४ लाख रुपैयाँभन्दा बढी विगो तथा जरिवाना असुल गर्न आदेश दिएको छ ।
अदालतका अध्यक्ष एवम न्यायाधीश सुदर्शनदेव भट्ट सदस्यद्वय न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार उक्त फैसला गरेको हो ।
प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, प्रदेश अस्पताल, सुर्खेतमा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर विरुद्ध रकम हिनामिनाको अभियोग लगाइएको थियो ।
अदालतका अनुसार प्रतिवादीले भ्रष्टाचार गरी हिनामिना गरेको ठहर भएको कुल विगो रकम २४ लाख २ हजार ९० रुपैयाँ रहेको छ ।
उक्त रकम प्रतिवादी सुवेदी, शाही र मगरले दामासाहीका आधारमा जनही ८ लाख ६९६ रुपैयाँ ६६ पैसा बेहोर्नुपर्ने देखिएको छ ।
यस्तै, स्वास्थ्य बीमातर्फ हिनामिना भएको १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसामध्ये सुवेदी र शाहीले जनही ८२ हजार ७१८ रुपैयाँ २५ पैसा विगो कायम गरिएको छ ।
यसअनुसार सुवेदी र शाहीको हकमा जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ ९१ पैसा तथा मगरको हकमा ८ लाख ६९६ रुपैयाँ ६६ पैसा विगो कायम भएको अदालतले जनाएको छ ।
अदालतले प्रतिवादी प्रतिवादीको कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३९१० को देहाय ९घ० अन्तर्गत पर्ने ठहर गरेको छ । अपराधको प्रकृति तथा प्रतिवादीको सामाजिक र आर्थिक हैसियतसमेतलाई ध्यानमा राख्दै अदालतले तीनै जनालाई जनही दुई वर्ष कैद सजाय सुनाएको हो ।
फैसलाअनुसार सुवेदी र शाहीलाई जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ ९१ पैसा जरिवाना गरी सोही बराबरको विगो रकम असुल गर्न आदेश दिइएको छ । त्यस्तै, मगरलाई ८ लाख ६९६ रुपैयाँ ६६ पैसा जरिवाना गरी सोही बमोजिमको विगो रकम असुल गर्नुपर्ने ठहर गरिएको छ ।
अपराध पीडित राहत कोषमा जम्मा हुने क्षतिपूर्ति शुल्कका सम्बन्धमा भने आरोपदाबी नभएकाले यसबारे केही उल्लेख गर्न नपर्ने अदालतले जनाएको छ ।
























