कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने, ‘जेठमा कालोपत्रे बनाउनु भन्दा सिमेन्टको सडक बनाउनु जाती’
वि.सं.२०८२ पुस १८ शुक्रवार १७:१७
shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीर्घकालसम्म हुनेगरी सडक पूर्वाधार निर्माण बनाउनुपर्ने बताएका छन् । जेठ लागेपछि कालोपत्र बनाउन थाल्ने र असार नलाग्दै भत्किने भन्दा सिमेन्टको प्रयोगले लामो समयसम्म टिक्ने सडक पूर्वाधार बनाउने विषयमा नीतिगत रूपमै सोच्नुपर्ने बताए ।
सिमेन्ट उत्पादक सङ्घले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले सानासाना कुरामा लोभ नगरेर बलियो र टिकाउ हुने पूर्वाधार बनाउन ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘जेठमा बनाउने असारमा भत्किने होइन । अब समयमै काम गर्ने र समयमै सिद्धिने गरी काम गर्नुपर्छ । आफ्नै कच्चापदार्थको प्रयोग गरी दीगो पूर्वाधारमा ध्यान दिन आवश्यक छ ।’
प्रदेश सरकारले प्रदेशकै कच्चापदार्थ उपयोग गर्नेगरी नीति ल्याउने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले कर्मचारीले आफ्नो पोशाक स्थानीय उत्पादन नै प्रयोग गर्ने विषयमा पनि तयारी गरिएको बताए ।
कार्यक्रममा सिमेन्टको प्रयोगबाट निर्माण हुने सडकको टिकाउ र दीर्घकालीन फाइदाका विषयमा नेपाल सरकारका पूर्वसचिव अर्जुनजङ्ग थापाले प्रस्तुति दिएका थिए ।
नेपालमा करिब ६५ वटा सिमेन्ट उद्योग भएको र क्रमशः सिमेन्टमा निर्भर हुँदै विदेश निर्यात गर्ने अवस्थामा पुगिसकेकाले यसको स्वदेशमा खपत गरेर लाभ लिनुपर्ने उनको भनाइ थियो ।
सिमेन्ट उद्योग सङ्घका निवर्तमान अध्यक्ष ध्रुव थापाले सिमेन्ट प्रयोग गर्दा संरचना कसरी टिकाउ र बलियो हुन्छ भन्ने विषयमा छलफल भएको बताए ।
























