उम्मेदवारी दिन नभ्याएका हेमराज भन्छन्, ‘म त खाजा पो खाँदै छु’
वि.सं.२०८२ पुस २३ बुधवार १६:५७
shares

विराटनगर । राष्ट्रियसभामा कोशीबाट एकल उम्मेदवारी परेपछि कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध भए । निर्वाचन आयोगले दिएको समय सीमाभित्र नेकपाका हेमराज घिमिरेको उम्मेदवारी नपरेसँगै थापाले निर्विरोध जित निकालेका हुन् ।
घिमिरेलाई खुल्ला क्लस्टरबाट अघि सार्ने निर्णय गरिएको थियो ।
मनोनयन दर्ता गराउन साढे १ बजे संखुवासभाबाट विराटनगरका लागि मोटरसाइकलमा हिँडेका थिए हेमराज । खाँदबारीबाट विराटनगर आइपुग्न कम्तीमा पनि ५ घण्टा लाग्छ ।
कांग्रेस-एमालेसँग गठबन्धन गर्ने भनिएपनि भागबन्डामा कुरा नमिलेपछि आज बिहानमात्र नेकपाले एक्लै उम्मेदवार उठाउने निर्णय गरेको थियो ।
मनोनयन दर्ता नगरेपछि फोन गर्दा घिमिरेले भने, ‘समय भित्र आइ नपुग्ने भएँ । म त खाजा पो खाँदै छु । त्यता के पो हुँदै छ ?’
आफूलाई पार्टीबाट ढिलो सूचना आएकाले समयमा उम्मेदवारी दिन नसकेको उनको भनाइ छ । मनोनयन दर्ताका लागि नेतृ सरिता खड्काले आज फोन गरेकी थिइन् ।
‘१२ बजे त हिँड्न पर्ने भो भन्ने कुरा आयो । पत्र नआई हिँडुम् कि नहिँडुम् भन्दाभन्दै साढे १ बज्यो । साढे १ बजे हिँडेर विराटनगर आइपुगिएन नि !’, घिमिरेले थपे ।
हेमराज संखुवासभाका पुराना कम्युनिस्ट नेता हुन् । उनी एमालेका जिल्ला अध्यक्ष र तत्कालीन जिविस उपसभापतिसमेत भएका थिए । एमाले विभाजनपछि नेकपा एसतिर लागे ।
समाजवादी, नेकपा माओवादी केन्द्र लगायतका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा उनी हाल केन्द्रीय सदस्य छन् ।
























