राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ भने, ‘पेन्सन खाएर मात्र बस्न मनले मानेन’
वि.सं.२०८२ पुस २७ आइतवार १४:२७
shares

काठमाडौँ । नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठ सक्रिय राजनीतिमा होमिएका छन् । ३७ वर्ष लामो सैनिक सेवाबाट अवकाश पाएका उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका हुन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठलाई प्रलोपाका शीर्ष नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायतले खादा ओढाएर पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश गर्दै श्रेष्ठले देशको वर्तमान विषम परिस्थिति र नयाँ पुस्ताको विद्रोह तथा त्यागले आफूलाई राजनीतिमा आउन प्रेरित गरेको बताए । ‘देशको राजनीतिक परिदृश्य सामान्य भएको भए म सरकारले दिएको पेन्सन खाएर बस्ने थिएँ,’ श्रेष्ठले भने, ‘तर, अहिलेको परिस्थितिले मेरो सोच बदलिदियो । आरामको जिन्दगी छोडेर राजनीतिको नाममा व्याप्त विकृतिको जालो तोड्न र आवाजविहीनहरूको आवाज बन्न म अघि सरेको हुँ ।’
को हुन् बाबुराम श्रेष्ठ ?
गोरखाको सिरानचोक गाउँपालिका–८, जौबारीको साधारण किसान परिवारमा जन्मिएका श्रेष्ठ २०३९ सालमा परोपकार आदर्श माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनी २०४४ सालमा सहायक सेनानीको रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए ।
भारतको ‘कलेज अफ मिलिटरी इन्जिनियरिङ’ पुणेबाट विशिष्ट श्रेणीमा सिभिल इन्जिनियरिङमा स्नातक गरेका श्रेष्ठले भारत, पाकिस्तान र नेपाल (त्रिभुवन विश्वविद्यालय) बाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । हाल उनी द्वन्द्व, शान्ति र विकास विषयमा विद्यावारिधि गर्दैछन् ।
सेनामा रहँदा उनले गुल्मपति, गणपति, बाहिनीपति, पृतनापति, कमान्ड सेनापति लगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । विशेषतः पहाडी सडक निर्माण परियोजनाहरू (त्रिशुली-शोम्दाङ्ग, बेनी-जोमसोम आदि) मा ८ वर्ष काम गरेर विकास निर्माणमा प्रत्यक्ष योगदान पुर्याएको अनुभव उनीसँग छ । उनी गत २०८१ कात्तिक १ गते उपरथी दर्जाबाट सेवा निवृत्त भएका हुन् ।
























