निष्कासनपछि गगनले भने, ‘मैले नेतृत्वलाई बुझाउन सकिनँ’
वि.सं.२०८२ पुस ३० बुधवार १६:३९
shares

काठमाडौँ । कांग्रेसबाट निष्कासनमा परेपछि गगन थापाले पार्टीलाई एकढिक्का राख्न विभिन्न प्रयास गरेपनि त्यो सफल नभएको बताएका छन् ।
संस्थापन पक्षले कारबाही गरे लगत्तै भृकुटीमण्डपस्थिति विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले आफूले विकसित राजनीतिक घटनाक्रमबारे नेतृत्वलाई बुझाउन नसकेको बताएका हुन् ।
‘मैले नेतृत्वलाई बुझाउन सकिनँ’, थापाले आज बिहानमात्रै सभापति शेरबहादुर देउवासँग छलफल गरेको र विशेष महाधिवेशनबारे बुझाउन खोजेको तर नसकेको बताएका हुन् ।
‘२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हक प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गरिएको हो । म यहाँ पाहुना भएर आइसकेपछि र महामन्त्रीको हैसियतले पहल गर्नुपर्ने जति गर्नु स्वाभाविक हो’, थापाले भने, ‘तर बाहिर जेजस्तो समझदारी भएपनि हलमा आउनैपर्छ ।’
त्यसक्रममा उनले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएको छ भनेर भन्न पाउनुपर्छ भनेर सभापति देउवालाई भनेपनि सुनुवाइ नभएको बताए ।

























