एकीकरणपछि जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक जारी
वि.सं.२०८२ माघ १ बिहीवार १६:१३
shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकीकरण भएपश्चात् गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको प्रथम बैठक केही बेर अघि सुरु भएको छ ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आह्वान गरिएको बैठकमा पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थिति रहेको छ ।
बैठकमा पार्टी एकीकरणपछिको साङ्गठनिक संरचना, समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको छ ।
विशेष गरी यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी विषयमा केन्द्रित रहेर छलफल सुरु गरिएको छ । निर्वाचनमा पार्टीको रणनीति, उम्मेदवार चयन र व्यवस्थापन तथा गठबन्धनसम्बन्धी एजेन्डाहरूमा विचार–विमर्श भइरहेको जनाइएको छ ।
बैठकमा एजेन्डागत रूपमा नेताहरूले आ–आफ्नो सुझावसहित विचार राख्ने क्रम जारी छ ।

























