सुदनको विश्रामः भोजपुरमा ध्रुवराज र सुनसरी १ मा हर्क साम्पाङलाई सघाउने
वि.सं.२०८२ माघ ५ सोमवार २०:४२
shares

विराटनगर । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराँतीले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
उनलाई उम्मेदवार बन्नका लागि सुनसरी क्षेत्र नं १ र भोजपुर सिफारिस गरिएको भए पनि उनले चुनावी मैदानबाट बाहिरिने निर्णय गरेका हुन् ।
उनले नयाँ पुस्तालाई अवसर दिन र नयाँ शक्तिहरूका बिचमा एकता गरी परिणाम निकाल्नका लागि उम्मेदवार नहुने बताएका हुन् । उनले भोजपुरमा नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नका लागि आफू पछि हटेको बताएका छन् ।
यस्तै सुनसरी क्षेत्र नं १ मा नयाँ राजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा हुँदा मत विभाजन हुने र त्यसको प्रत्यक्ष लाभ पुराना राजनीतिक दलहरूलाई पुग्ने देखिएकाले आफूले उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन् ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टी भर्खरै स्थापना चरणमा रहेकाले यसलाई लामो राजनीतिक यात्रामा लैजान र संगठन विस्तारमा समय दिन पार्टी निर्माणकै काममा केन्द्रित हुने बताएका छन् ।
उनले सुनसरीमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने समेत बताएका छन् । श्रम संस्कृती पार्टीबाट हर्क साम्पाङ सुनसरी १ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
उनले श्रम संस्कृतिको मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन् । किराँतीले प्रलोपाले सुनसरी १ मा हर्कराज राई (हर्क साम्पाङ ) र भोजपुरमा ध्रुव राईलाई सहयोग गर्ने बताएका छन् ।

























