लोकतान्त्रिक मोर्चामा भएन चुनावी तालमेल, एक अर्काविरुद्ध भिडे नेताहरु
वि.सं.२०८२ माघ ७ बुधवार १५:४१
shares

काठमाडौँ । मधेस केन्द्रित दलले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चामा चुनावी तालमेल हुन सकेन ।
चुनावको घोषणा हुने बित्तिकै मोर्चाको बैठक बसेर मोर्चामा रहेका दलहरूको बिचमा चुनावी तालमेल हुने निर्णय गरेको थियो । तर अन्तिमसम्म प्रयास गर्दा पनि सहमति हुन नसकेपछि नेताहरू एक अर्काविरुद्ध भिडेका छन् ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल रहेका छन् । तर, यी दलहरूको बिचमा कतै तालमेल नभएको हो ।
त्यही कुरा मिलाउन प्रयास गर्दा सिके राउत र उपेन्द्र यादव बिच कुरा नमिल्दा उपेन्द्र यादव सप्तरी–२ छाडेर सप्तरी–३ मा गए । मोर्चामा सहमति बन्न नसकेपछि यस्तो समस्या आएको बताइएको छ ।
सप्तरी–२ मा सिके राउत उठेका छन् । त्यहाँ जसपा नेपालले उमेश यादवलाई उठाइ दिएको छ भने उपेन्द्र यादवको उठेको सप्तरी–३ मा जनमत पार्टीले सुरेन्द्र मधेशीलाई उठाइ दिएको छ । यता सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् । त्यहाँ जसपा नेपालले भरत चौधरीलाई टिकट दिएको छ । जनमत पार्टीले पनि आफ्नो उम्मेदवार उठाएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले उपेन्द्र यादव उठेको सप्तरी–३ मा गजेन्द्र मण्डललाई उठाएको छ भने जनमत पार्टीका अध्यक्ष सिके राउत उठेको सप्तरी–२ मा अनीश अन्सारीलाई उठाएको छ । यसरी देशैभरि मोर्चामा रहेका दलका नेताहरू विरुद्ध मोर्चामै रहेका दलका नेताहरू उम्मेदवारी दिएका छन् ।
जसपा नेपालका नेता रामकुमार शर्माले मोर्चामा समय अभावका कारण सहमति हुन नसकेको र दलहरूले आआफ्नो उम्मेदवारी दर्ता गराएको बताए ।
यता मधेसी मोर्चा एक ढिक्का नरहेको भन्दै जसपा नेपालका नेता डा. शिवजी यादवले पार्टी नै छाडेका छन् । लोकतान्त्रिक मोर्चाको सचिवालय संयोजक समेत रहेका उनले जुन उद्देश्यका लागि मोर्चा गठन भएको थियो, त्यसमा कोही अडिग नरहेको बताए ।
उनले मोर्चा एक ढिक्का रहन नसक्नुमा आफूलाई समेत दोष देखाउँदै मोर्चाका साथै जसपा नेपालको साधारण सदस्य समेत छाडेर रास्वपा नेपालमा प्रवेश गरेको बताए ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहताले चुनावमा मोर्चा तालमेल गर्न नसक्नु दुखद रहेको बताए । संघीय, लोकतान्त्रिक गणतन्त्र बचाउनका लागि दलहरूको बिचमा एकता हुनु जरुरी रहेको भएपनि त्यसो हुन नसकेको उनले बताए ।

























