मतदातासँग शेखरले भने, ‘मैले युवाहरूको विचार बोकेको छु, जेनजीले उठाएका कांग्रेसकै एजेन्डा हुन्’
वि.सं.२०८२ माघ २२ बिहीवार १७:०२
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले विगतदेखि नै उठाइरहेको भ्रष्टाचार मुक्त समाजको कुरा अहिले जेनजीहरुले उठाएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग कुरा गर्दै भ्रष्टाचार मुक्त समाज नबनाई देश विकास सम्भव नभएको बताए।
उनले भने, ‘भ्रष्टाचार मुक्त समाज नबनाई विकासको कामहरू अगाडि बढ्न सक्दैन। जेनजीले पनि त्यही कुराहरू गरिराखेका छन्। अरू नयाँ पार्टीहरूले के गरिराख्या छन् मलाई थाहा छैन। अरू पार्टीहरूले के गर्या छन् मलाई थाहा छैन। तर मैले तपाईहरूसितै आएर यो चुनावमा मात्रै होइन, ६४ सालको चुनावदेखि यही एउटै कुरा भनिराख्या छु– भ्रष्टाचार मुक्त समाज हामी बनाऔँ, सुशासन दिऔँ, विकास गरौँ, रोजगारीका अवसरहरू सिर्जना गरौँ।’
उनले युवाहरूलाई स्थानीय तहको निर्वाचन प्रोत्साहन गरेर ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने बताए।
उनले थपे, ‘प्रदेशको चुनावमा ३०, सङ्घीय चुनावमा २० प्रतिशत युवाहरूलाई दिनुपर्छ भनेर भनिराखेको छ। युवाहरूको महत्त्व नेपाली कांग्रेसले नबुझेको होइन। युवाहरूको महत्त्व नेपाली कांग्रेसले बुझेको छ। तपाईँहरू युवा हुनुहुन्छ भने तपाईँहरूको विचार मैले बोकेर हिँडिराखेको छु। आज होइन म ५–७ वर्ष देखिन यो कुराहरूलाई बोलिराखेको छु।’

























