भन्सार नाकाबाट रोकिएन अबैध ‘भेप’ तस्करी : रमिते बन्दै सरकार
भन्सार कार्यालयका कर्मचारी र व्यवसायीहरुको अबैध साँठगाँठबाट दैनिक रुपमा नेपाल, भारत र चीनको सिमाबाट करोडौ मुल्यको इलेक्ट्रिक चुरोट (भेप) विना भन्सार नेपाल आयत
वि.सं.२०८२ माघ २५ आइतवार १६:५५
shares

काठमाडौं । भन्सार कार्यालयका कर्मचारी र व्यवसायीहरुको अबैध साँठगाँठबाट दैनिक रुपमा नेपाल, भारत र चीनको सिमाबाट करोडौ मुल्यको इलेक्ट्रिक चुरोट (भेप) विना भन्सार नेपाल आयतमा हुदै आएको छ । जसले गर्दा सरकारी ढुकुटीमा जम्मा हुनु पर्ने अर्ब हाराहारीको राजश्व समेत खुलेआम लुटिदै आएको छ । दैनिक रुपमा प्रतिबन्ध गरिएको भेप कर्मचारी र व्यापारीको संलग्नतामा भन्सार चेकजाँच विना नेपाल आयत हुदाँ समेत सरकार भने रमीते बन्दै बसेको छ । भेपलाई तस्करले अवैध रुपमा भित्राउन समेत छाडेका छैनन भने राजश्व समेत छली गर्दै आएको भेटिएको छ ।
मुस्ताङको कोरोला नाकाबाट भन्सार नतिरी आयात गरेका १९ हजार थान विद्युतीय चुरोट (भेप) बरामद भएपछि तस्करीले पुनः उग्ररुप लिएको पुष्टी भएको छ । भने उता राजस्व अनुसन्धान विभागको टोलीले ललितपुरको इमाडोलमा स्टोर गरेर राखेको अवस्थामा भेप बरामद गरेपनि सरकारले कडा कारबाही नगर्दा सो अबैध सामानको आयातमा बृद्धि हुन गएको छ । जसले देशभित्र भेपको अवैध तस्करी भइरहेको देखाएको छ । इमाडोल क्षेत्रबाट राजस्वको टोलीले ५०१ कार्टुन अर्थात ८६ हजार पिस भेप बरामद गरेको थियो । राजस्वको टोलीले अहिले भेप चीनबाट नेपाल आएर भारत जाने गरेको बताएको छ । एक साताको अवधिमा अन्य जिल्लाबाट समेत भेप बरामद भएका कारण दैनिक ठूलो परिमाणमा आयात हुने गरेको समेत पुष्टी भएको छ ।
उता अबैधरुपमा नेपाल भित्राएको ४ हजार पिस भेप पथलैयामा बरामद गरिएको थियो । बुटवलमा २ हजार ६ सय ३० पिस भेप बरामद भएको थियो । भेरी ट्रान्सपोर्टको लु प ३००१ ख ०११४ नम्बरको गाडीमा ल्याइएको उक्त परिमाणको भेप बरामद भएको थियो । डायमन्ड नेपाल इन्टरनेशनलका रोजन न्यौपाने र सनाउल्लाह अन्सारीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको सम्बन्धीत सरकारी निकायले जनाएपनि के कस्तो कारबाही भयो भन्ने बारे केही बोल्न चाहेको छैन । चीनबाट आएको भेप खरिद गर्ने अन्सारीको श्रीमतीको नाममा तसनीय जनरल स्टोरको फर्म उल्लेख गरिएको पाइएको छ । त्यही फर्मले भेप खरिद गरेको देखिएको छ ।
सस्तोमा खरिद गरेको भेप उनले भारतको अर्को पार्टीलाई बिक्री गर्ने गरेको बताइएपनि विभिन्न सेटिङ मिलाउदै अनुसन्धानलाई लम्वाउदै गएको छ । चीनबाट रसुवा र तातोपानी नाका हुँदै काठमाडौं भेप ल्याउने गरिएको छ । बुटवलमा बरामद भेप काठमाडौंबाट डायमन्ड नेपाल इन्टरनेसनल ल्याएको खुलेको छ भने त्यसको सञ्चालक रहेका सुमन शर्मा प्रहरीको सूचीमा फरार देखिएको छ । निकोटिन युक्त भेप आयात गर्दा प्रति किलो ४० प्रतिशत भन्सार महसुल, ४७५ रुपैयाँ अन्तःशुल्क र मूल्य अभिबृद्धि कर (भ्याट) बुझाउनु पर्ने हुन्छ । तर निकोटिन विहीन भेपको आयातमा भन्सार महसुल ५ र अन्तःशुल्क ३० प्रतिशतसहित भ्याट तिर्नुपर्ने हुन्छ ।
नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेवरमा आउने गरेको छ । ब्लाकवेरी, ब्लुवेरी, मेलन, पाइनापल, गाभा, म्याङ्गो जस्ता फ्लेवरमा आउने गरेको छ । भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार ६८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल भित्राएको जनाएको छ । तीमध्ये ३१ लाख ७५ हजार ८१५ थान ती विद्युतीय चुरोट चीनबाट मात्र आएको उल्लेख गरेको छ । अमेरिकाबाट २ लाख ६५ हजार ६४०, सयुक्त अरब इमिरेट्सबाट १२ हजार ९६७ थान आउने गरेका छन् । भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ ।
यो भन्सार दस्तुर तिरेर आयात भएको भेपको तथ्याङक हो भने त्यसको दोव्वरको मात्रामा भेप चोरी पैठारीबाट आयात हुदै भारत निकासी हुने गरेको छ । जुन कार्यमा सवैभन्दा ठूलोमात्रामा सिल्क ग्रुप नामको व्यवसायीक फर्मका मालिक रमेश शेर्पाले गर्दै आएका छन् । अहिले उनी अबैध रुपमा भेप आयात गरेको सामान बरामत भएसंगै उनी फरार रहेका छन । नेपालमा वार्षिक ३२ अर्ब रुपैयाँभन्दा बढीकोे विद्युतीय चुरोटको व्यापार हुने गरेको छ । नेपालमा विगत पाँच वर्षमा दुई सय गुणाले आयात बढेको छ भने एउटा विद्युतीय चुरोट १० हजारदेखि १३ हजार रुपैयाँसम्ममा बिक्री गरिदै आएको छ ।


























