रेशम चौधरीबारे सर्वोच्चको आदेशप्रति राजेन्द्र महतोको आशंका, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
वि.सं.२०८२ माघ २६ सोमवार १२:३४
shares

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले नाउपा नेपालका संरक्षक रेशम चौधरीबारे भएको फैसलाप्रति आशंका व्यक्त गरेको छ। अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजनैतिक मुद्दाको आडमा लोकतन्त्रको आत्मामाथि प्रहार भएको उनको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘जनताको अदालतमा जान खोज्ने एक नेताको बाटो रोक्नु न्याय होइन, अन्यायको संस्थागत रूप हो। प्रश्न सीधा छ – थारुकै छोरा भएकै कारण अन्याय, विभेद र षड्यन्त्र सहिरहनुपर्ने यो बाध्यता कहिलेसम्म ? विश्व इतिहास साक्षी छ – अमेरिकाजस्तो मुलुकमा डोनाल्ड ट्रम्पमाथि सयौँ मुद्दा चलाइए, तर चुनाव लड्न रोकिएनन् । हाम्रै देशमा पनि कैयौँ नेतामाथि मुद्दा चलेका छन्, कतिपय दोषी ठहर भइसकेका छन्, तर उनीहरूलाई राजनीति गर्न कुनै रोक छैन । तर उत्पीडित समुदायका आन्दोलनकारी नेता मात्र किन निशानामा ?’
थरुहट र मधेश आन्दोलनको सत्य छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन वर्षों बितिसक्दा पनि लुकाइएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरे।
विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको निम्ति ब्यालेटकाे माध्यमबाट प्रतिरोध गरौँ, मतको बलले अन्यायलाई चुनौती दिऔँ, किनभने प्रश्न एक जना रेशम चौधरीको मात्रै होइन, मधेश–थरुहट आन्दोलनलाई अपराधीकरण गर्ने निर्णयसँग छ।’
रामुपा, नाउपा नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जाँतो चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन्।


























