महाशिवरात्रिपछि पशुपतिनाथ आएका नागा बाबासहित साधुसन्तलाई दक्षिणासहित बिदाइ
वि.सं.२०८२ फागुन ५ मंगलवार १४:०३
shares

काठमाडौं । महाशिवरात्रिको अवसरमा गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा पूजा–आराधना एवं दर्शन गर्न आएका नागा बाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ ।
बिहान ११ बजेदेखि मन्दिरअघिको पश्चिम ढोकाबाट बिदाइ कार्यक्रम सुरु गरिएको हो । संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिँदैछ । पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी चार हजारभन्दा बढी साधुसन्त सहभागी रहेको उनले जानकारी दिए ।
महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहितका साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।
संस्थानले उपलब्ध गराएको दक्षिणामा कोषले आधा रकम थप्ने व्यवस्था रहेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताए । फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले खाने, बस्ने तथा धुनी बाल्न आवश्यक दाउरा समेत उपलब्ध गराउँदै आएको छ ।
आजको बिदाइ कार्यक्रममा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेटसहित दक्षिणा र २१ प्रकारका सामग्री पनि समावेश गरिने संस्थानले जनाएको छ ।

























