वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चारजना पक्राउ
वि.सं.२०८२ फागुन ५ मंगलवार १५:०३
shares

काठमाडौं । वैदेशिक रोजगारीमा पढाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ ।
राम्रो तलवको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको भनेर ७ जनाले दिएको उजुरीका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका(६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ बस्ने ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापाको अर्जुनधारा नगरपालिका–५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ४२ वर्षीय गोविन्द प्रसाद निरौला र गोरखाको गण्डकी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बस्ने ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन्।
पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रुपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितबाट ५० लाख रुपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख ३ हजार रुपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका–२६ बाट र निमालाई काठमाडौं महानगरपालिका–६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका–२६ बाट सोमबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।


























