बैंकिङ प्रणालीबाट आज १ खर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल हुने
वि.सं.२०८२ फागुन १९ मंगलवार १३:०५
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्ने भएको छ । वित्तीय प्रणालीमा बजारमा अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो ।
केन्द्रीय बैंकले ३५ दिनका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
यसको सावाँ तथा ब्याज भुक्तानी यही फागुन २५ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अंकसम्म० उल्लेख गर्नु पर्नेछ। निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।


























