होर्मुज हुदै जान्छ विश्वको २० प्रतिशत तेल
वि.सं.२०८२ फागुन १९ मंगलवार १४:५१
shares

काठमाडौँ । मध्यपूर्वमा अमेरिका-इजरायल र ईरानबीच बढ्दो तनाव अब होर्मुज जलडमरूमध्यसम्म पुगेको छ । विश्वको करिब २० प्रतिशत तेल यही समुद्री मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको महत्व अत्यन्त ठूलो मानिन्छ ।
ईरानको इस्लामिक रोभोलुस्नारी गार्ड क्रोप्सले उक्त जलमार्ग बन्द गरिएको दाबी गर्दै त्यहाँबाट गुज्रने जहाजलाई निशाना बनाइने चेतावनी दिएको थियो । यो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ । कच्चा तेलको भाउ प्रतिव्यारेल करिब ८० डलर नजिक पुगेको छ । विश्लेषकहरूका अनुसार अवस्था झन् बिग्रिएमा मूल्य १०० डलरसम्म पुग्न सक्ने बताएका छन् ।
होर्मुज हुँदै निर्यात हुने अधिकांश तेल चीन, भारत, जापान र दक्षिण कोरियाजस्ता एसियाली देशतर्फ जान्छ भने यसबाहेक जेट इन्धन र एलएनजी आपूर्तिमा पनि असर पर्न सक्ने चिन्ता बढेको छ ।
यदि यो जलमार्ग पूर्ण रूपमा बन्द भयो भने विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने आकलन गरिएको छ ।


























