प्रहरी मुख्यालयमा सेटिङः लिबिया मिसनका लागि दुई विवादास्पद डीएसपीको नाम सिफारिस !

नेपालीजनता

काठमाडौं  । प्रहरी मुख्यालयले विद्यमान युएन निर्देशिकाविपरीत दुई डीएसपीलाई लिबिया मिसनका लागि सिफारिस गरेको पाइएको छ । आईजीपी प्रकाश अर्यालका पीए रहेका विवादास्पद डीएसपी सविन प्रधान र युएन शाखामा कार्यरत डीएसपी सुमित खड्कालाई निर्देशिकाविपरीत लिबिया मिसनका लागि गृह मन्त्रालयमा सिफारिस गरेपछि संगठनमा असन्तुष्टि चुलिएको स्रोत बताउँछ ।

गृह मन्त्रालयले जारी गरेको निर्देशिकामा युएन स्याट परीक्षा उत्तीर्ण भएका मध्येबाट पहिलोपटक जानेलाई प्राथमिकता दिनुपर्ने प्रावधान भएता पनि एक पटक पनि जान नपाएका थुप्रै अधिकृतलाई पन्छाएर तीन पटक मिसन गइसकेका प्रधान र दुई पटक मिसन गइसकेका खड्काको नाम सिफारिस गरिएको हो ।

युएन शाखा सम्बद्ध स्रोतका अनुसार डीएसपी खड्काले युएन शाखाका एसएसपी श्याम खड्कालाई भनेर आफ्नो नाम सिफारिस गरेका हुन् भने डीएसपी प्रधानको लागि आईजीपी प्रकाश अर्यालको सिफारिस रहेको थियो ।

प्रधान आईजीपी अर्यालका विश्वासपात्र हुन् । अर्याल अवकाशको मुखमा पुग्दै गर्दा अमेरिकामा हुने सुरक्षासम्बन्धी तालिमको लागि नाम सिफारिस गर्न प्रधानलाइ विशेष ब्युरोमा काज खटाइएको देखाइएको छ ।

आकर्षक आय आर्जन हुने भएकोले हरेक अधिकृतहरु युएन मिसनको लागि कडा मेहनतका साथ अध्ययन गरेका हुन्छन् । तर मेहनत गर्नेहरुभन्दा उच्च पदाधिकारीको आसेपासेहरुले मात्रै हरेक मिसन र तालिममा हालिमुहाली हुनाले मेहनत गर्नेहरु निराश देखिएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी मनोज नेउपानेले युएन मिसनमा प्रहरीको छनोट दुई तरिकाले हुने बताए । स्याट परीक्षा उत्तीर्ण गर्नेहरुमा पहिलोपटक जानेलाई प्राथमिकता दिइने गरेको उनको भनाइ छ । ‘अर्को तरिका, युएन मिसनअन्तर्गत विश्वव्यापी रुपमा पनि प्रहरी अधिकारीको माग गरिएको हुन्छ । त्यसका लागि प्रहरी प्रधान कार्यालयले इच्छुक अधिकारीलाई दरखास्त गर्न आह्वान गर्छ । ती अधिकारीको बायोडाटा पठाई उतैबाट छनोट पनि हुन्छ । यस्तो प्रक्रियामा भने पटके भन्ने हुँदैन । जुनसुकै प्रहरी अधिकारी छनोट हुन सक्छ,’ नेउपानेले भने । डीएसपीद्वयको सन्दर्भमा के भएको हो भन्ने बुझ्नुपर्ने नेउपानेले बताए ।

१८,पुष.२०७४,मंगलवार १८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: