स्कुले माया–पिरती ‘हग्नेलाई भन्दा देख्नेलाई लाज भए जस्तै….

नेपालीजनता

स्कुलको डेक्समा कालो डटपेनले घोटेर बिर्खेले पानको पात बनायो अनि तलबाट लेख्यो “बिर्खे+ शिला” । लेखिसकेपछि आफ्नो झोला त्यही पानपाते र नामको माथि राखेर पढ्न सुरु गर्यो ।

उता मिश्रा सरले संस्कृत पढाउँथे, यता बिर्खे चँै शिलालाई कोर्के नजर लगाउँदै लाइन मार्दै पढेको नाटक गथ्र्यो । उसको शिलाप्रतिको मायामोह मिश्रा सरलाई पनि शङ्का थियो । त्यसैले त बेलाबेलामा चकको सानो टुक्राले हान्दै भन्थे– “ओए बिर्खे तँ उठिहाल अनि शरणमको नेपाली अर्थ बुझाइहाल बाबू ।”

मिश्रा सरले पढाउँदासम्म उसको ध्यान शिलाको एउटा कान अनि एकापट्टिको गालामा अडिएको थियो । नाकमा लगाएको फुलीमा ऊ मस्तले हेरिरहन्थ्यो । अब मिश्रा सरले सोधेको शरणमको अर्थ के बुझ्थ्यो । डाइरेक्ट अगाडिबाट हेर्न नसके पनि ऊ केटाको लाइनबाट केटीको लाइनमा बस्ने शिलालाई पेटभरी हेथ्र्यो । मनमनै धेरै कुरा कल्पिन्थ्यो ।

ऊ चुप भएपछि मिश्रा सरले शिलालाई उठाउदै भने– “ओए शिलाकी जवानी,  ल भन्दे शरणमको अर्थ ।”

शिलाले फरर शरणमको अर्थ भन्देपछि कुटाइखाने पालो बिर्खेको भयो ।

मिश्रा सर आफैमा खतरा थिए, झन् उनको दण्ड दिने स्टाइल अझ धेरै खतरा थियो । एउटा प्रश्न सोध्ने अनि जसले सही उत्तर दिन्छ उसैले गलत उत्तर दिनेलाई गालामा चड्कन लगाउने । उनको दण्ड दिने स्टाइल ।

बिर्खेले शिलालाई घोसेमुन्टो लगाएर हेर्यो, शिला लाजले राती भै ।

मिश्रा सरको आदेश पालना नगर्ने या चड्कन कमसल खालको भयो भने चड्कन लगाउन सिकाउने बहानामा सही उत्तर दिने व्यक्तिले पनि भेटथ्यो चट्याङ्ग, एक पटक गालामा मिश्रा सरको छिप्पिएका हातबाट  । त्यसैले होला, शिला डराउँदै भए नि बिर्खेसामु आई ।

बिर्खे एउटा गाला थापेर रेडी पोजिसनमा बसेको थियो, शिलाले राम्रैसँग बजाइदिई । गाला रन्किए, गोरो बिर्खे रातो भयो अनि मिश्रा सर परबाट कराउँदै भने– “स्याब्बास बिटिवा ! ए हुई ना थप्पड ।” शिलाले गालामा बजाइदिएपछि बिर्खे घोप्टे मुन्टो लगाएर बस्यो । उता मिश्रा सरले भट्याउँदै गए– “बुद्धम शरणम गच्छामी…।”

यो पनि पढ्नुहोस  कसलाई जोगाउन प्रहरीले प्रमाण नष्ट गर्‍यो त ? - निर्मलाको आमा

मिश्रा सरको घण्टी सकिएपछि बिर्खेले अघि डेक्समा लेख्या बिर्खे + शिला मेट्ने प्रयास गर्यो ।

त्यो मेट्न त्यति सजिलो थिएन । चोरऔँलामा थुक लगाउँदै घोट्न थाल्यो ।

घोट्दा निस्कने कुइँकुइँ आवाजले हरिको ध्यान तान्यो अनि बिर्खेको हात हटाउँदै पढ्यो ।

एक पटक मस्तले हास्दै भन्यो– “ओए सुन साथी हो । बिर्खेले डेक्समा के लेख्या छ, आइजौ पढम् ।”

बिर्खे र हरिको झगडै होला जस्तो भयो । डट्पेनले कोरेर पढ्नै नमिल्ने बनाउँदै थियो तर अरू दुई चार जनाले पढिहाले । अब बिजेत । बिर्खेले हरिलाई धम्क्याउँदै भन्यो– “साँझ बाँसघारीमा भेट्छस ।”

हरिले तलतिर देखाउँदै भन्यो– “यी यै भेट्छु । सिङ्गल सिङ्गल लड्छु तँसँग ।”

मिश्रा सरको क्लासमा शिलाको हातको चड्कन, शिलालाई मन पराएको पोल अनि हरिसँग दुश्मनीको सुरुवात एकै दिनमा भएपछि बिर्खे तनावमा पर्यो । बिर्खे + शिला लेखेको कुरा शिलाले पनि थाहा पाई । अरू धेरैले थाहा पाएपछि बिर्खेले शिलालाई मनबाट पूर्णरूपमा निकाल्दियो ।

त्यो दिन न बाँसघारीमा हरि र बिर्खेको पटकापटकीवाला लडाइँ भयो न त शिलाले अरू कुनै प्रतिकृया जनाई । दुई चार दिनपछि यो घटना सेलायो ।

शिलालाई मन पराउने बिर्खेले देवकीलाई मनमा सजाउन थालेछ क्यारे । आजभोलि ऊ देवकीको खुबै तारिफ गर्छ । साइन्सको नोट सार्न देवकीको कपी लगेको बिर्खेले किरणसँग भन्यो– “अक्षर हेर न अक्षर ! पूरै वकिलका जस्ता छन् यार ।”

किरणले बिर्खेलाई झस्काउँदै भन्यो– “धेरै फुर फुर नगर ! त्यो देवकी त हरिको छप्की हो । आँखासाँखा झिक्देला, होस गर ।”

मनमनै बिर्खे डरायो तर सान दिँदै भन्यो– “त्यो जाबो हरि साइड लाग्छ । मैले एक प्रपोज हान्न पर्छ, देवकीले नो भन्ने कुरै आउन्न बे ।”

किरण चम्चा थियो । उसलाई क्लासका धेरैले दहिचिउरे पनि भन्थे  । आज बिर्खेसँग मिठा कुरा गर्ने किरण भोलि हरिसँग लपक्कै टासिन पुग्थ्यो ।

यो पनि पढ्नुहोस  नियमन आयोगले विद्युत् प्राधिकरणलाई सोध्यो, स्पष्टीकरण

उसको बानी सबैलाई थाहा थियो । कतिले त उसलाई भोक्रो नभाको आइमाई जस्तो नाक्चे पनि भन्थे । मनमा कुरा राख्नै नसक्ने भएर भोक्रो नभाको आईमाई भन्या होलान सायद ।

बिर्खेले देवकीलाई पट्याउन खोज्या छ भन्ने कुरा किरणले सबैका कानमा फुक्दियो । तर ऊ बाठो बन्दै सबैलाई भन्थ्यो– “यो कुरा कसैलाई नभनेस् है ।”

यो कुरा कसैलाई नभनेस् है भन्दाभन्दै क्लासका सबैलाई उसले भन्न भ्याइहाल्यो । हरिले यो कुरा थाहा पाएपछि सुरु भयो ग्याङ फाइट । एकातिर हरि, सुन्दरे अनि गनेसेहरू । अनि अर्कोतिर बिर्खे, ग्वाते अनि सिबेहरू ।

विचरी सोझी देवकी दुई ग्याङबीचको फाइटको कारण बनेर फुली । देवकीवाला फुल टिप्न कहिले बिर्खे अघि सर्थ्यो त कहिले हरि ।

अत्यन्त अप्ठ्यारो अवस्था आएपछि एक दिन देवकीका बाआमाले देवकीलाई स्कुलबाट निकाले अनि खै कता लगे, थाहा भएन । ऊ स्कुल छाडेर गएपछि दुई ग्याङबीच फाइट पनि कम्ती हुँदै गयो ।

जिल्ला स्तरीय परीक्षा चल्दै थियो । आठ पास गर्नु भन्या अहिलेको एसईई पास गर्नुभन्दा महत्व हुन्थ्यो । जिल्ला स्तरीय परीक्षामा राम्रो नम्बर ल्याउन सकिएन भने एसएलसी पास गर्न मुस्किल पर्छ भन्ने मान्यता हामी माझ थियो । हामी बिहान कोचिङ, दिउँसो स्कुल अनि बेलुका टिउसनका क्लास लिन्थिम् ।

एक दिन टिउसन क्लास सकेर खेतको बाटो घर फर्कंदै थिएँ, पानी सुकेको कुला मुन्तिर बिर्खे र अन्जलीलाई भेट्टाए । मलाई देखेर बिर्खे खिस्स हाँस्यो, अञ्जली लाजले रातो भई । म चैँ हग्नेलाई भन्दा देख्नेलाई लाज भए जस्तै भएँ ।

स्थिति सामान्य बनाउँदै बिर्खेले भन्यो– “टिउसन क्लास छैन भनेर छिटै फर्केको यार म त ।”

बिर्खेले अन्जलीतिर हेरेर आँखा झिम्कायो । मैले चर्तिकला देख्दै थिएँ । दुवैलाई पुग्ने गरेर भने– “इस छैन टिउसन, बरु लपको चक्कर छ भन् न ।”

यो पनि पढ्नुहोस  गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

अञ्जलीले सफाया दिन खोजी, बिर्खेले मलाई लोभ्याउँदै भन्यो– “भोलि एक हाप चिकन चाउमिन खालास, हाम्रो लब चल्या कसैलाई नभन है ।”

म एक हाप चाउमिनमा बिकेँ, उसले चुप बस भनेपछि म चुप भैगएँ । मैले त्यहाँ केही देखिन । भोलिपल्टै स्कुलको क्यान्टिनमा लगेर बिर्खेले मलाई एक हाप अण्डा चाउमिन खुवायो । चिकन चाउमिन पाइएन । म अण्डा चाउमिनमै बिकँे ।

आठ कक्षाको परीक्षामा बिर्खे गुल्टियो, अञ्जली पास भई । हामी धेरै पास भयौँ । तर बिर्खे लगाएतका टोली फेरि आठमै बसे ।

स्कुले जीवनमा पहिलो पटक लभ चलाउने दिवाना बिर्खे आजभोलि कहाँ छ ? कोसँग घरजम गरेर बसेको छ, थाहा छैन तर उसको निक्कै याद आउँछ । बिर्खेले मन पराएकाहरू पनि कहाँ सेट भए थाहा छैन । तर त्यो स्कुले जीवनको प्रपोज अनि माया पिरती चैँ जीवन्त बनेर आँखा अगाडि घुम्छन् सपना जस्तै ।   अनि त यस्तै उरन्ठेउला कथा फुर्छन् नि सलललल ।

-दीपक घिमिरे 

२२,पुष.२०७४,शनिबार १७:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: