आफ्नो घर आफै भत्काउने घरधनीलाई फूलमाला र दोसल्ला !

नेपालीजनता

धनगढी । धनगढीमा आफ्नो घर आफै भत्काउने घरधनीहरुलाई सोमबार फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कैलालीमा निर्माधिन मोहना–अत्तरिया छ लेन सडक आयोजनाको सीमाभित्र रहेका आफ्ना घरहरु आफै भत्काउने घरधनीहरुलाई सम्मान गरिएको हो ।

धनगढीस्थित दृष्टिविहिन यूवाहरुद्वारा गठित युवा दबाव समुहका संयोजक अर्जुन रावलले सडक क्षेत्रमा परेका संरचना स्वस्फुर्त रुपमा भत्काउने घरधनीहरुका लागि सम्मान कार्यक्रम राखेको जानकारी दिए । कार्यक्रममा १९ जनालाई सम्मान गरिएको उनले बताए ।

पछिल्लो समय उक्त निर्माधिन आयोजनाको काममा ठप्प भएको छ । धनगढीका १३ जना घरधनीहरुले आयोजना विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि अदालतको अन्तरिम आदेशले तत्काल संरचना हटाउनमा रोक लगाएपछि निर्माणको कार्य ठप्प भएको हो ।

तर धनगढीका स्थानीयहरुले मुद्धा दायर गर्नेहरुलाई विकासको काममा सहयोग गर्नुपर्ने भन्दै दवाव सिर्जना गर्दै आएका छन् । यसैबीच मुद्धा दायर गर्ने मध्येका एक मीनकाजी श्रेष्ठले कार्यक्रममा आफ्नो मुद्धा फिर्ता लिने घोषणा गरेका छन् ।

धनगढी चौराहामा आयोजित कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालले घरधनी मीनकाजी श्रेष्ठको जस्तै अरुले पनि विकासका लागि ठूलो ह्दय देखाउन आग्रह गरे ।
त्यस्तै युवा दबाब समूहले रिट निवेदन दिएर क्षतिपूर्ति माग गरेका घर धनीहरुका लागि भन्दै सांकेतिक रुपमा एक रुपैया संकलन गरेको छ । ट्राफिक चोकमा बाकस राखेर नै एक रुपैयाँ संकलन अभियान शुरु गरिएको हो ।

स्थानीय धना जोशी, लोकबहादुर कुँवर, मीनकाजी श्रेष्ठ, गंगा शाह बम, यज्ञराज ओझा, मानबहादुर चन्द, ज्ञानबहादुर बिष्ट, कुसुमलता गैरे, महेन्द्रनाथ गैरे, मानबहादुर खड्का, दुर्गादेवी खड्का, सुरजबिक्रम श्रेष्ठ र सरपसिंह बोहराले सर्वोच्चमा रिट दायर गरेका छन् ।
उनीहरुले आयोजना अन्तरगत सडक क्षेत्रभित्रका संरचना हटाउने कार्य रोक्न माग गर्दै पुस १६ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले पुस १९ गते अन्तरिम आदेश जारी गरेको थियो ।

यो पनि पढ्नुहोस  पतिले टुप्पी नकाटेपछि पत्नीले दिइन् डिभोर्स, पति भन्छन, नमरुन्जेल टुप्पी काट्दिन

तर दुवै पक्षका वकिलको बहसबाट उजुरी दिने पक्षलाई उपस्थित गराउने गरी माघ ९ गते अर्को पेशी तोकिएको मोहना पुल धनगढी–अत्तरिया ६ लेन सडक आयोजनाका प्रमुख मनिष कुमार शाहले जानकारी दिए । मुद्दा प्रकृया लम्बिएसंगै सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने कार्य पनि लम्बिएको छ ।

सरकारले २०३४ सालमा राजमार्गको चौडाई सडकको बीचको बिन्दुदेखि दाया–बाया २५–२५ मिटर कायम गरेको थियो ।

तर, धनगढी–अत्तरिया सडकमा तत्कालिन धनगढी नगरपालिकाले सडकको सडकको बीच भागदेखि दाँया–बाँया २३ दशमलव ०७ मिटरभित्रै घर नक्सा पास गरेकोले नक्सा पास गरी बनाइएका संरचना हटाउने बारेको विवाद उत्पन्न हुँदा सर्वोच्चमा मुद्दा परेको हो । सडक क्षेत्र खाली हुन नसक्दा निर्माण सम्झौता भएको ८ महिनासम्म पनि कामले गति लिन सकेको छैन । धनगढी चौराहादेखि भन्सार रोडसम्म भने झण्डै ९० प्रतिशत सडक क्षेत्र खाली भईसकेको आयोजना कार्यालयले जनाएको छ । चौराहादेखि चटकपुरसम्मका केही स्थानीयले सडक क्षेत्र खाली गराउने कार्यको विरोध गरे पनि भन्सार क्षेत्रमा भने स्थानीयले आफैले आफ्ना संरचना भत्काएका आयोजनाका सव इन्जिनियर भुपेन्द्र बडालले बताए ।

८,माघ.२०७४,सोमबार १९:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: