उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ – ट्रम्प

नेपालीजनता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन् ।

मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उनले सो धारणा राखेका हुन् । उनले भने– उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको बताएको छ, यसले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन पनि सक्छ ।

उनले आफूले अर्थात अमेरिकाले र लगभग विश्वले नै उत्तर कोरियाको यो शस्त्रको होड रोक्नका लागि आजका मितिसम्म निकै ठूलो प्रयत्न गरिरहेको पनि बताए।

उनले सो सम्बोधनका क्रममा भने– हामीले सम्भावित सो त्रास हटाउन र सम्भवत यस्तो हतियारको होडबाट कुनै पनि घटना हुन नदिन प्रयत्न गरिरहेका छौँ, तर उत्तर कोरियाले कसैको कुरा सुनेको जस्तो लागेको छैन जुन उसको मुर्खता मात्र हो ।

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा रुस र चीनलाई पनि उनीहरुले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यताहरुलाई चुनौती दिइरहेको आरोप लगाए ।

उनले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि अमेरिकाले पहल गरिरहेको जानकारी दिए । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले उत्तर कोरियाली नेतालाई वार्ताको टेबलमा ल्याउन अनेक प्रयासहरु जारी राखेको खुलासा पनि उनले गरे ।

उत्तर र दक्षिण कोरियाबीच हालै भएको द्विपक्षीय वार्तापछि वातावरणमा केही सहजता आएको भए पनि उत्तर कोरिया वार्ताका लागि पूरै तयार भने भइ नसकेको पनि उनले बताए ।

यही जनवरी ९ मा उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलो पटक मन्त्रीस्तरको उच्चस्तरमा वार्ता भएको छ । करिब दुई वर्षपछि भएको यस भेटवार्तालई दुई कोरियाको सम्बन्ध सुधारका रुपमा विश्वमा नै प्रचार गरिएको छ ।

यस वार्तालाई अमेरिकाले पनि निकै नजिकबाट हेरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले सो वार्ताको स्वागत गरेका थिए । उनले उत्तर कोरियासँग वार्तामा बस्न अमेरिका तयार रहेको सोही समयमा सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नुहोस  विश्वकप छनोट: नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै

राष्ट्रपति ट्रम्पले आवश्यक परेमा आफूले उत्तर कोरियाली नेतासँग पनि वार्तागर्ने धारणा पनि त्यसै समयमा सार्वजनिक गरेको समाचारमा आएको थियो ।

उनले दुई कोरियाली वार्ताका कारण पछिल्लो समयमा विकसित परिस्थितिबाटै अघि बढ्न र कोरियाली प्रायद्धीपमा जारी अशान्तिको अवस्थाको अन्त्य गर्न पनि दुबै कोरियाली नेतृत्वसँग आग्रह गरेका थिए।

अर्को महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिता र उक्त खेलको तयारीको बारेमा आवश्यक छलफलका लागि उत्तर र दक्षिणका बैठकहरु कोरियामा बसिरहेका छन् ।

 

१७,माघ.२०७४,बुधबार १३:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: