रत्नसागर मन्दिरका महन्थलाई लाग्यो जग्गा खाने हन्तकाली रोग

नेपालीजनता

जनकपुर । जनक हजारी विद्यापीठको अढाई बिघा जमिन रत्नसागर मन्दिरका महन्थ वैकुण्ठदास वैष्णवले फर्जी कागज बनाएर हडप्न खोजेको पिद्यापीठ प्रशासनले दावी गरेको छ ।

विद्यापठिका प्राचार्य विजय चौधरीले बिहीबार पत्रकार सम्मेलन गरी २०५० देखि क्याम्पसको भोगचलनमा रहेको जनकपुर ८ स्थित सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर र सिट नम्बर १३५४/१५ को किता नम्बर १,२, २८ तथा ४९ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा महन्थ दासले फर्जी कागज बनाएर बिक्री गर्न खोजेको पत्रकारहरुसँग दावी गरेका छन् । विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आंगीक क्याम्पस हो ।

साबिक नापीमा गुठी संस्थान अधिनस्त वराही कुटीका नाममा रहेको जमिनसँगै सडक पश्चिमको समेत ६ बिघा ३ कठ्ठा ५ धुर जमिन २०५० जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई भोगचलन गर्न दिएको थियो ।

संस्थानले विद्यापीठलाई उपलब्ध गराएको सडक पूर्वको अढाई बिघालाई व्यवस्थापनले तारबार गर्नुका साथै सडक छेउको दक्षिणतर्फ भौतिक संरचना पनि निर्माण गरेको छ । उच्च अदालत जनकपुरले निर्माण रोक्न आदेश दिएपछि कलेज प्रशासन हच्किएको थियो ।

प्राचार्य चौधरीले भने, ‘उच्च अदालतको आदेशपछि बल्ल हामी वास्तविकताको खोजी गर्न थाल्यौं । खोज्दै जाँदा रत्नसागरका महन्थले फर्जी कागजका आधारमा जग्गा आफ्नो नाममा गर्न लगाएका छन्, अनि नक्कली मोही पनि खडा गरेको थाहा पाएँ ।’ जनकपुर उप–महानगरपालिका ८ को दुवैतर्फ पक्की सडक रहेको यो जमिन धुरको १० लाख रुपैयाँमा बिक्री हुन्छ ।

विद्यापीठको भोगचलनमा रहेको सडक पूर्वको अढाई बिघाको विवाद भने नयाँ होइन । २०६८ सालमा पनि दासले गुठी कार्यालयका तत्कालीन प्रमुख राजाबाबु पाण्डे तथा मालपोत कार्यालयको मिलिमतोमा उक्त जमिन आफ्नो नाममा गराएका थिए ।

चौधरीका अनुसार त्यतिवेला विद्यापीठ प्रशासन तथा नागरिक समाजको पहलमा फर्जी लालपुर्जा बदर गराइएको थियो । मालपोत कार्यालय धनुषाले २०६९ असोज २४ गते टिप्पणी आदेशमार्फत रत्नसागर मठका नाममा जारी गरेको लालपुर्जा खारेज गरेको थियो । आदेशमा गुठी तैनाथीमा बराहीकुटी नामबाट स्रेस्ता पुर्जा तयार गरी दर्ता नवीकरणसमेत गरिदिने उल्लेख छ । ०४२र४३ को सहरी नापीमा गुठी संस्थान बराही कुटीका नाममा दर्ता रहेको त्यो जमिनलाई मालपोत कार्यालय धनुषाले फर्जी स्रेस्ता खडा गरी २०६८ मा मठका नाममा अर्को जग्गाधनी दर्ता स्रेस्ता बनाएको थियो । जसको संरक्षकमा महन्थ दासको नाम उल्लेख थियो ।

यो पनि पढ्नुहोस  सहकारीले चर्को व्याज असुल्न मिल्दैन नियन्त्रणका लागि सरकारले काम गर्छः मन्त्री अर्याल

दासले पछिल्लो समय जग्गाधनी महलमा रत्नसागर गुठीको नाम तथा मोही महलमा आफ्नै मठका पुजारी अशोक शर्माको नाम उल्लेख गरी अर्को लालपुर्जा बनाएका छन् । गुठी कार्यालय जनकपुरका प्रमुख मनोज शर्मा त्यो जग्गा गुठी संस्थानको भएको बताउँछन् । शर्माले जग्गामा कसैको मोही कायम नरहेकोसमेत जनाए । रत्नसागर मन्दिरका महन्थ दासले जग्गा आफ्नो मठको नाममा रहेको र गुरुको मृत्युपछि आफू संरक्षक बनेको दाबी गरेका छन् ।

२४,फाल्गुन.२०७४,बिहीबार २१:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: