धम्बोझी- कथा ‘वीरेन्द्र दाइ चुइँक्क बोलेनन्’

नेपालीजनता

-रामु ओली  

“भनेको सुन्नुभयो ? सुन्नुभएको बुझ्नुभयो ? या यसै यसै मुन्टो हल्लाउँदै फिस्स हास्नु भा’को हो ? मान्छेहरू पनि गज्जबका हुन्छन् है । पत्याउनै नसकिने, विचित्रका । अनि तपार्इंले के नाम भन्नुभयो रे ? राम कि रमेश ? “हेर्नुस् न म अलि भुलक्कड छु के । प्याट्टै भुलिदिएँ ! माफ गर्नोस् है ।”
“रमेश नै हो हजुर ।”
रमेश बोलिदिन्छ । उसैको मुखमा टोलाएझैँ गरी । थोरै लाचारी टलक्क टल्किन्छ सँगै । ऊ अर्थात उसैको छेउमा बसेको एक यात्री ।
“ ए, ए, होत रमेश थापा पो भन्नुभाको थियो । हेर्नुस् रमेशजी साँच्चिकै मानिसहरू गज्जबका हुन्छन् ! पत्याउनै नसकिने, विचित्रका, थाहा छ तपाईंलाई एक दिन म यसैगरी कसैसँग बात मार्दै थिएँ । छेउको कसैले बौला भनेर मुन्टो टेडो पार्यो । ल भन्नुस् त आफै के म बौला हँुला त ?”
“छाडिदिनुस् ती कुरा, बरु कथाहरू भन्नुस् । तपाईं मलाई सुनाउँछु भनेका कथाहरू, यात्रा लामै छ समय त काट्नै पर्यो नि ।”
“हेर्नुस्, रमेशजी, कथा, कथा भन्न छाड्नुस् । मलाई कथा भन्न आउँदैन । आखिर यो कथा भन्ने पनि कहीँ हुन्छ र ? असलमा रमेशजी कथा भन्ने नै हँुदैन ।  असलमा मानिसहरू पागल हुन्, जो कथा कथा भन्छन् । तपाईं पनि पागल नै हुनुहुँदो रैछ । कथा पनि कहीँ हुन्छ ? घटनालाई मान्छेहरू कथा भन्छन् । बरु म तपाईंलाई एउटा घटना भन्नेछु । एउटा घटना सुनाउने छु । तर तपाईंले मेरो केही नियमहरूलाई पालना गर्नुपर्ने हुन्छ ।”
कन्डक्टर टिकट देखाउन आग्रह गर्दै बोल्छ– “दाजु खै तपाईंको टिकट देखाउनुस त, अनि तपाईंको पनि ।”
“दाजु रे ! म तिम्रो दाजु हो ? कहिले भयौ मेरो भाइ ? कति न साख्खै, नाभी नै जोडिएको ! मान्छेहरू पनि गज्जबका हुन्छन् । पत्याउनै नसकिने, विचित्रका ।”
ऊ यतिभाँती गलफत्ती गर्दै टिकट देखाउँछ । कन्डक्टर चुपचाप छ । रमेश चुपचाप छ । छेउछाउका यात्रीहरू पुलुक्क पुलुक्क उसलाई हेर्ने कोसिस गर्दैछन् । तर उनीहरू पनि चुपचाप छन् । निःशब्द छन् ।
रमेश गएको एक घन्टादेखि ऊसँगै एउटै  सिटमा छ । बेला मौकामा बोल्दै छ । उसैको कुरा सुन्दै छ । उसैलाई हेर्दै छ र पनि आँखा मिलाइवरी उसको सम्पूर्णतामा नजर छरुवा छोड्ने प्रयास गर्छ ।
शिरमा ढाकाको टोपी । सेतो चेक सर्ट । गाढा निलो पाइन्ट । कालो इस्टकोट । उमेर लगभग पचासको । रमेशको अन्दाज गलत सावित भयो । हेरेर उसको मगज बुझ्न  सकेन र बोल्यो ऊतिर हेर्दै (हुन्छ हजुर म तपाईंको सम्पूर्ण नियमलाई शिरमा राख्नेछु, पूर्णतः पालना गर्नेछु । अब त भन्नुस् ।”
“मेरो नियम के–के छन् ? थाहा छ रमेशजी ?”
“छैन ।”
साच्चिकै मान्छेहरू गज्जबका हुन्छन्, पत्याउनै नसकिने, विचित्रका ! नियम नै थाहा छैन भने सोधपुछ गर्नुस् । नियम के हो त्यो सोध्नुस् । अनि सुन्नुस र भन्नुस् । अनि म एउटा घटना भन्ने छु, एउटा घटना सुनाउने छु ।”
“क्षमा गर्नुस्, तपाईं पहिला तपाईंका नियम सुनाउनुस् ।” रमेश बोल्छ । उसको लाचारी यहाँ पनि पोखिन पुग्छ ।
“सुन्नुस मेरो नियमहरू, नियम नम्बर एक– तपाईंलाई  मैले जे सुनाउँछु त्यो नै घटना हो । त्यसैले यो या त्यो भन्न पाउनुहुनेछैन । मतलब घटनाको सर्वाधिकार ममा रहनेछ । नियम नम्बर दुई– घटनाको सुरुदेखि अन्त्यसम्म तपाईं आफ्नो मुखमा बुजो हाल्नुस् मात्र कानलाई खुल्ला छोड्नु पर्नेछ । नियम नम्बर तीन– घटनाको तिथि मिति भन्ने छैन किनकि तिथि मितिले मलाई चिढ्याउँछ । नियम नम्बर चार– त्यो तपाईंको अवस्था हेरेर पछि भन्ने छु ।”
“हजुर म मन्जुरी भए, तपाईंको नियमको गुलाम भएँ ।” रमेश सिटमा अलि आरामदायी हुँदै बोल्यो । बसका खुल्ला रहेका सिसाका झ्याललाई बन्द गर्यो । चिसो सिरेटोले उसका नाकहरू राता भइसकेका थिए ।

यो पनि पढ्नुहोस  चितवनमा एक महिनाकाे अवधिमा १७१ फरार प्रतिवादी पक्राउ

घटना: एक 
केही दिन । केही महिना । केही साल पहिले । वीरेन्द्र दाइ नेपालगन्जमा फर्किनु भा’को थियो । तर उनको घर उहीँ भए पनि घरको ठेगाना  परिवर्तन भएको थियो । उनी जाँदा लाखौँ मानिस थिए । लाखौँ मानिसले पठाएका थिए । कतिले जानेर । कतिले हुलभिडको लहेलहैमा । समय उस्तै थियो । वीरेन्द्र दाइ चुइँक्क बोलेनन् । बोल्न सक्ने भए बोल्थे होलान् ।
तर उनी नबोली गएको दस वर्ष बित्दा नबित्दै फर्की आए । उनी जाँदा सग्लो थिए । मुसुक्क हासेका थिए । फर्किंदा आधा भएर फर्किए । हजार मानिसले स्वागत गरे र पनि मुस्कुराउनु वीरेन्द्र दाइको जादुमयी कला थियो । आधा हुँदा पनि उनी मुस्कुराइरहेका थिए । स्वागतमा आएका हजार या हजारौँ मानिस अट्टहास हासो हाँस्दै थिए, दाइको आगमनमा ।
वीरेन्द्र दाइले कैयौँ सालसँगै केही मिटर या किलोमिटरको दूरीमा लस्करै बसेका दुई सहयात्रीलाई पुलुक्क हेरे । वीरेन्द्र दाइको ठेगाना धम्बोझी नामकरण भएको धेरै साल बितिसकेको थियो । उनी गएसँगै ठेगानाको नाम परिवर्तन भएको थियो । उनी ठेगानाको नयाँ नाममा  पनि मैफुस बने ।
दाइको आगमन पछिको भोलिपल्ट दाइ हराएको सूचना समाचार बन्यो । हजारौँ मानिस झस्किए । कति हजारौँ मानिस खुशी बने रे । कतिले भने पुलिस नै चोर बने रे । कतिले दाइ आउनै नहुने भने रे । कतिले हतार गर दाइ आए भने रे । तर यथार्थ के थियो त्यो रातको दाइ लाई नै थाहा होली या चोर्नेलाई नै थाहा होला ।  जुन रातमा म मस्त निदाएको थिए ।
त्यसपछि भने म हरेक रात जागै छु । मेरा आँखाहरू खुल्लै छन् । छेउकै चिया बेच्ने रहिम पनि मसँग भन्दै थियो– “दाइ त आ’को गा’को पत्तै लागेन, दाइलाई यही राख्दैमा के जान्थ्यो होला र ? आखिर उनी ढुङ्गा न हुन ।”
दाइ हराएको कति पो साल बित्यो । प्रहरिले पत्तो लाउनै सकेन या वास्तै गरेनन् । दाइको स्वागत गर्नेहरू पनि चुपचाप बसे । आजभोलि भन्दाभन्दै खै कति पो हो साल बित्यो । त्यसैले म सिंहदरबार जाँदै छु । दाइको अवशेष खोज्दै ।

यो पनि पढ्नुहोस  ७ सयमै अनलिमिटेड एडिएसएल इन्टरनेट !

“सुन्नुस् न आखिर वीरेन्द्र दाइको हुन् ? अनि रहिमले भनेको ढुङ्गाको मतलब के हो ?” रमेशले प्रश्न गर्यो । प्रश्न गर्दै थियो । उसको प्रश्नहरू अझै बाँकी नै थिए । तर..
“तपाईं पागल हो । विचित्रको पागल । म भन्दिनँ घटना । सुनाउँदिन घटना ।  घटना नम्बर एक मात्र सकिएको थियो । घटना दुई बाँकी नै थियो । तपाईंले मेरो नियम तोड्नुभयो । मुखमा बुजो हाल्नुस् भनेको थिए । मान्छेहरू पनि गज्जबका हुन्छन् । पत्याउनै नसकिने, विचित्रका ।”
ऊ अजङ्गको आवाजमा जङ्गियो । आँखा रातो निलो पार्यो । “पागलहरू।” शब्दलाई बारम्बार उचो स्वरमा उच्चारण गर्यो । बसका यात्रीहरू सिटबाट टाउको उठाउँदै रमेश भएतिर हेर्दै थिए । ऊ भएतिर हेर्दै थिए ।
कसैले बोल्यो– “मेन्टललाई कसले उङ्लि गर्यो ।”
ऊ मात्र “पागलहरू” उच्चारण गरिरह्यो । रमेश कापिरहेको थियो, सायद मन भित्रभित्रै अझ बेसी ।
रमेश आफ्नो सिटदेखि जुरुक्क उठ्यो । कन्डक्टरसँग मुडा माग्यो । अनि गयो अगाडि गल्लीमा । त्यही मुडा राखी बस्यो । अनि हेर्दै थियो बेलाबेलामा उसैलाई । सायद उसको मनभित्रको बाँकी प्रश्नले उकुसमुकुस बनिरहेको थियो । मनदेखि बाहिर निस्केको प्रश्नले पनि ।
ऊ को हो ? वीरेन्द्र दाइ ? ढुङ्गा ? रहिम ? धम्बोझी ?  दाइसँगै लस्करै रहेका साथी को हुन् ? यी प्रश्नहरू बोकेर रमेश निदाउन सकेन ।
ऊभने “पागलहरू” भन्दाभन्दै निदायो । चिर निद्रमा  ।

१७,चैत्र.२०७४,शनिबार १६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: