कथाः ८० वर्षे सेलियासँग आई-सेक्स !

नेपालीजनता

‘म पनि लाइनमा छु’, पारिपटि्ट जलिरहेका शवहरु देखाउँदै सेलियाले भनी ।

‘कसलाई के थाहा ? हामी तीनमध्ये को अघि हुन्छ ?’, मैले भनें ।

‘तिमीलाई थाहा छ, म कति बर्ष भएँ ?’, उसले के-के न भने झैं गरी सोधी ।

‘भननँ’, उसको प्रश्नको सतहमै रहेर मैले भनें ।

‘८० । त्यसैले म लाइनमा छु भनेको’, उसले आफ्नो सुरुको भनाइलाई दह्रोसित प्रमाणित गरे झैं गरी ।

‘होइन, ६० बर्षको अनुभवसहित तिमीले २० बर्षमात्र टेकेकी छौ’, मैले त्यसो भन्दा सेलिया मलाई धाप मारेर हँसिलो स्वरमा भन्दै थिई, ‘तिमीले ठिक भन्यौ ।’

‘हाम्रो परिवारको इतिहासमा १०० बर्ष नपुगी मृत्यु हुने मेरा अग्रजहरु मैले सिला झैं खोज्नु पर्छ’, गर्व मिसाएर उसले थपी ।

‘त्यसोभए तिमी कम्तिमा पनि अझ २० बर्ष त बाँच्छौ । २० बर्ष एउटा सिंगो जीवन नै हो’, त्यसो भन्नु कति ठिक थियो वा थिएन तर मैले भनेकै त्यही हो ।

‘प्रत्येक दिन जीवनको अन्तिम दिन हो भनेर बाँच्ने हो भने … ‘, उसले त्यति मात्र भनी ।

नेदरल्यान्डस्को राजधानी आमस्र्ट्डमबाट आएका ८० वर्षीया सेलिया र ७१ वर्षीया मार्गरेटले मात्र होइन, उनीहरुभन्दा आधा उमेर कमको मैले पनि झन्डै एक घन्टा पारिपटि्टको सिँढीमा बसेर पशुपति आर्यघाटतिर अन्त्येष्टिका दृश्यहरु हेरिरह्यौं ।

मार्गरेटको यो नेपाल आगमन १२ औं रहेछ भने पशुपतिमा ऊ दोस्रोपटक आएकी रहिछ । सेलिया भने नेपालमात्र होइन, पशुपति पनि पहिलोपटक नै आएकी थिई । त्यसकारण त्यो उसका लागि निकै नौलो र उसकै शब्दमा ‘सुनौलो क्षण’ थियो ।

‘झन्डै दश बर्षअगाडि पहिलोपटक यो अन्त्येष्टि क्षेत्र आउँदा मसँग छोरी पनि थिई । छोरीले उसको पिता गुमाएको दुई महिनामात्रै भएको थियो । त्यसैले ऊ निकै भावकु भएकी थिई । र, निकै बेरसम्म रोएकी थिई’, मार्गरेटले सम्झी ।

यो पनि पढ्नुहोस  दुई हजार तिर्न नसक्दा गाउँ नै ‘अनागरिक’, साहुकहाँ नागरिकता बन्धक

छोरीका पिता अर्थात मार्गरेटको पति । तर, कुरा के रहेछ भने छोरीको पिता उसको पूर्व पति मात्र रहेछ । र, ऊप्रति मार्गरेटको कुनै संवेदनशीलता रहेनछ । यदि उसमा कुनै किसिमको संवेदशनशीलता थियो भने पनि पति वा पूर्व पति नभई आफ्नी छोरीको पिताको हिसाब र हैसियतले मात्र थियो ।

‘ऊ मेरो पूर्व पतिमात्र थियो । ऊप्रति मेरो कुनै इमोसन थिएन’, मार्गरेटले भनी ।

‘तर, छोरीले पिता गुमाएकी थिई । र, पितालाई सम्झेर ऊ दुखी भई । उसको दुखमा म पनि सँगै थिएँ’, उसले थपी ।

‘जसरी कोही अपरिचितको मृत्यु देख्दा जोसुकैमा जस्तो सामान्य भाववोध हुन्छ, मलाई त्यसभन्दा बढी केही भएन’, उसले आफ्नो अनुभूतिलाई सजिलो शब्दमा व्याख्या गरी ।

‘जब तिमीले तिम्री छोरीका पितालाई छोड्यौ, त्यसपछि फेरि नयाँ जीवन सुरु गर्यौ ?’, मैले सोधें ।

‘गरें । तर, अहिले फेरि पनि म सिंगल छु’, हाँस्दै र अलि सर्तक भएर मार्गरेटले पन्छिन खोजे झैं गरी ।

ऊ सन् १९९८ मा पहिलो पटक नेपाल आएकी थिई । त्यसपछि केही बर्ष नेपाल आइन ।

लेखक सिलवाल

‘नेपालमा हतियारको ‘राजनीति’ सुरु भयो । त्यो केही बर्ष निकै हिंस्रक पनि भयो’, उसले कारण बताई ।

‘जब नेपालमा शान्ति सुरु भयो, बर्षैपिच्छे आइरहेको छु,’ उसले भनी ।

‘तिमी नेपाल एडिक्ट भइसकिछ्यौ । तिमी मात्र होइन, यहाँ आउने बहुसंख्यक पर्यटक पटकपटक नेपाल आउने गरेको तथ्यांकले नै प्रमाणित गरेको छ । नेपाल एउटा सुन्दर एडिक्सन हो’, मैले भनें ।

‘नेपाल मिन्स् ओन्स इज नट इनफ’, मैले पर्यटकीय हिसाबले पञ्चिङ स्लोगन भनिरहँदा ऊ मभन्दा बढी उत्साहित भएर ‘यस्’ भन्दै थिई ।

मार्गरेटको पटकपटकको नेपाल आगमनलाई मैले सेलियातिर मोड्दै भनें, ‘तिमी ८० बर्षकी जवान रहिछ्यौ । र, जब तिमी ८१ बर्षकी हुन्छ्यौ, तिमी फेरि नेपाल आइसकेकी हुनेछ्यौ ।’

यो पनि पढ्नुहोस  एनआईडीसीमा करोडौं घोटला, यादव फरार

उसले पनि सहमतिमा टाउको मात्र हल्लाइन, आँखा पनि चम्किलो पारी ।

ती चम्किला आँखा पशुपति आर्यघाटका दृश्यहरुबीच निकै रसाएका थिए । हामी तीनैजना मौन थियौं र जलिरहेका शवरु नजिकै छरिएका आफन्त र निकटस्थहरु पनि उस्तै गरी मौन थिए । तर, म देख्दै थिएँ, मार्गरेट र सेलियाका आँखाहरु निकै बेरसम्म ओभाएका थिएनन् । जब ब्रम्हनालमा शवको मुखमा जल चढाउँदै आफन्तहरु आदरसाथ नमस्कार गर्दै थिए, उनीहरु पनि टाढैबाट शवलाई उस्तै गरी नमस्कार गर्दै थिए ।

‘रेस्पेक्ट’, पारिपटि्ट इशारा गर्दै सेलियाले मतिर हेरेर भनी ।

‘रेस्पेक्ट’, फेरि पनि मतिर एक टकले हेर्दै उसले भनी ।

त्यति भन्दै उसले मलाई अंगालो हाली र रोइरही ।

मृत्युपछिको आदरले ऊ भित्रैदेखि भावुकमात्र भएकी थिइन, उसको मनैदेखिको कम्पन उसको अंगालो हुँदै मसम्म पनि आइपुगेकोे मैले महसुस गरें । तर, कति मानिस जीवनकालमा घृणा र सायद मृत्युपछि देखावटी श्रद्धा गर्न मात्र त्यहाँ पुगेका थिए । त्यो सायद उसले बुझिन । मैले बुझाउने प्रयत्न पनि गरिनँ ।

उनीहरु निकै बेरसम्म पशुपतिका पर्याय झैं भइरहे । मैले उनीहरुलाई उनीहरुको भावदेशबाट बाहिर ल्याउने प्रयत्न पनि गरिनँ ।

‘उनीहरु मृत्युवोध गर्दै थिए वा जीवनवोध ? मृत्युवोध वा जीवनवोधबीच के फरक छ ? यी फरक छन् कि समान ? यी भिन्न हुन् कि एक ?’, म यस्तै-यस्तै सोच्दै मेरा छेउछाउका अनेक जीवितबीच पारी लामवद्ध शवहरु हेर्दै एक्लै-एक्लै टोलाइरहें । आँखाहरु मेरा पनि भिजिसकेछन् ।

हामी त्यहाँबाट र्फकदै गर्दा उनीहरुले भर्खरैको पशुपति यात्राको सम्झना गर्दै जीवनकै एक विशेष दिन भनेर त्यो दिनलाई अभिनन्दन गरे । त्यो यात्राको एउटा हिस्सा म पनि थिएँ ।

गाइडिङ पेशाले मलाई त्यहाँ नियमितजसो डोर्याउने गर्छ । तर, जब त्यहाँ पुग्छु, म बिर्सन्छु, म पेशाले गाइड हुँ । मलाई लाग्छ, ‘त्यो मेरो ठाउँ हो ।

यो पनि पढ्नुहोस  आजको राशिफल

मेरा पि्रयहरुलाई अन्तिमपटक उनीहरुको महाशान्तिसहितको अनुहार हेर्दै भक्कानिएको ठाउँ हो । रोक्न खोज्दाखोज्दै मुटु चुँडिएको ठाउँ हो । ती हातहरु जो मेरो टाउकोमा आर्शिवाद र आत्मविश्वास बनेर पोखिन्थे, ती आँखाहरु जहाँ प्रेमको पवित्रता थियो, ती मान्छे जो थिए र जीवन सजिलो थियो, ती थिए र जीवन उज्यालो थियो, ती सब खरानी भएको त्यो क्रुर ठाउँ हो ।’ फेरि पनि जहिल्यै मलाई त्यो मेरै ठाउँ लाग्छ । फेरि पनि मलाई त्यो ठाउँ जहिल्यै प्रिय लाग्छ ।

हामी फर्किरहेका थियौं । हो, हामी फर्किरहेका थियौं । हामी ठमेल फर्किरहेका थियौं । तर, फेरि हामी आर्यघाट … ।

लामो सास तानेर म उनीहरुतिर फर्कें । उनीहरु जीवनका सुनौला गीत गाइरहेजस्ता देखिन्थे । उनीहरुले मलाई पुलपुलाए, ‘तिमीले आज जे देखायौ, हामीले आफैंलाई देख्यौं, आफैभित्रको अनुभुतिलाई देख्यौं ।’

भनिन्छ नि मशान वैराग्य ! मलामीको रुपमा होस् या दर्शकको रुपमा आर्यघाटमा पुग्दा हामी जीवनको निस्सार अनुभूति गर्छौं । तर, त्यहाँबाट र्फकंदा नर्फकदै जीवन-व्यवहारमा प्रवेश गर्छौं । त्यो दिन पनि त्यस्तै भयो । ठमेल पुग्नुअघि नै मैले उनीहरुलाई अर्कै प्रसंगमा लगें ।

‘म किन आजभन्दा ८० बर्षअघि जन्मिनँ ? मेरो र तिम्रो भेट ६० बर्षअगाडि किन भएन ? मलाई पछुतो छ’, सेलियाको आँखामा आँखा जुधाउँदै भनें ।

ऊ अझ सुन्दर ढंगले आक्रामक भई, ‘एज इज अन्ली द नम्बर । आइ एम स्टिल रोमान्टिक । यु क्यान सी इन माइ आइज् ।’

त्यसपछि उसले निकै बेरसम्म उसका चम्किला आँखाहरु मतिर फ्याँकिरही ।

‘म त नमरेको दिनसम्म यस्तै रोमान्टिक रहिरहन्छु’, उसले त्यसोभन्दा उसका आँखाहरु अझ बढी चम्किए ।

मलाई लाग्यो, ‘म टीन एजको पहिलो प्रेमको पहिलो आई-सेक्स गर्दैछु ।’

१८,चैत्र.२०७४,आईतवार ०८:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: