हरेक वर्ष थपिन्छन् ४५ हजार क्षयरोगी, वार्षीक ७ हजारको मृत्यु

नेपालीजनता

काठमाडौं । सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका शनिवार विश्व क्षयरोग दिवस मनाइँदै छ । नेपालमा पनि क्षयरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

जर्मन चिकित्सक रोर्वट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात टीबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको हो ।

दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र ठिमी तथा क्षयरोगको क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुले बर्सेनि विभिन्न जनचेतनाका कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाउने गरेका छन् ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । नेपालमा ६० हजार क्षयरोगी भएको केन्द्रको तथ्याङ्क छ । आर्थिक वर्ष २०७३/७४ तथ्याङ्क ३१ हजार ७ सय ६४ जना क्षयरोगका विरामी पत्ता लागेको र उनीहरुको उपचार भइरहेको केन्द्रले जनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डाक्टर केदारनरसिंह केसीले  नयाँ पुराना क्षयरोगका बिरामीको अवस्थालाई हेर्दा वार्षीक २८ हजार विरामी हराइरहेको बताए ।

‘यी हराइरहेका क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याउन नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रमलाई चुनौति देखिएको छ’ डा. केसीले भने, ‘क्षयरोगको उपचारबाट बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन स्थानीय तहको सहभागिता सहयोग र सक्रिय नेतृत्वको आवश्यकता छ ।’

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले एकिकृत स्वास्थ्य प्रणाली मार्फत ४ हजार ३ सय २१ उपचार केन्द्रहरु, ९६ वटा शहरी केन्द्रहरु, ६ सय ४ वटा रोग निदान केन्द्र र २७ वटा जीन एक्सपर्ट केन्द्र तथा २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालामा क्षयरोगको सेवा प्रदान गरेको छ । यसैगरी औषधि प्रतिरोधी क्षयरोगका २८ वटा उपचार केन्द्र र ८१ वटा उपचार उपकेन्द्रबाट  क्षयरोगका बिरामीले उपचार पाउने गरेका छन् ।

यो पनि पढ्नुहोस  लिबियाबाट फर्केकाहरूले भने– 'अध्यागमनकै सेटिङमा उडेका थियौं’

नियमित औषधि सेवन गरेमा निको हुने क्षयरोगका कारण नेपालमा अझै पनि वार्षीक ७ हजार मानिसको मृत्यु हुने डा. केसीले जानकारी दिए ।  उनले क्षयरोगका कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी वर्षमा स्थानिय निकायलाई क्षयरोग कार्यक्रमका बारेमा अभिमुखिकरण गरिने जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक राजेन्द्र पन्तले व्यवस्थापन कमजोरीको कारण वार्षीक ७ हजार नेपालीको क्षयरोगको कारण मृत्यु हुने गरेको बताए । उनले भने,‘ क्षयरोगको कारण, लक्षण र रोग निदानको लागि औषधि समेत विज्ञानले पत्ता लगाइसकेको छ । तर भौगोलिक विकटता, जनचेतनाको अभाव र रोग लुकाउने प्रवृत्तिले मानिसले अकालमै ज्यान गुमाउन परेको छ ।’

सरकारले क्षयरोगको उपचार निःशुल्क गरेपनि ग्रामिण क्षेत्रमा सेवाको पहुँच नभएको उनको भनाइ छ । क्षयरोगलाई नियन्त्रण गर्न र रोगका बिरामीलाई उपचारको पहुँचमा ल्याउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उनले बताए ।

‘सरकारको स्वास्थ्य कार्यक्रमहरु स्थानीइ तहमा गइसकेको अवस्था छ । अब स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रबाट सक्रिय भएर लागे भने क्षयरोग मुक्त नेपाल बनाउन सकिन्छ’ उनले भने, ‘नेपालाई क्षयरोग मुक्त बनाउन पहिला त स्थानीय तहका जनप्रतिनिधिले आफ्नो वडा,गाउँपालिका तथा नगरपालिकालाई क्षयरोग मुक्त बनाउँछु भनेर प्रतिबद्धता जनाउँनुपर्छ ।’

के हो क्षयरोग ?

क्षयरोग  माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ  । क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई क्षयरोग लाग्दैन ।

क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ । फोक्सोको क्षयरोग  र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग  ।

फोक्सोको क्षयरोग लागेको कसरी थाहा पाउने ?

लक्षणहरू – दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु ,शरीरको तौल घट्नु , खासगरी बेलुकापख ज्वरो आउनु ,छाति दुख्नु ,खाना अरुची हुनु ,खकारमा रगत देखिनु आदि समस्या देखिए तुरुन्त चिकित्सकलार्इ भेट्नु पर्छ ।

यो पनि पढ्नुहोस  बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु 

फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु अंग अनुसार फरक हुने गर्छ। जस्तै टि.बी. मेनेन्जाइटिस भएको खण्डमा विस्तारै– विस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने ,घाँटी अररो हुने ,मानसिक भ्रम हुने ,शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ।

हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने,हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ। पेटको क्षयरोग  भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पर्ने, मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि हुन सक्छ।

११,चैत्र.२०७४,आईतवार ०९:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: