राष्ट्रपति भण्डारीकी आमा वृद्धा आश्रममा [फोटो फिचरहरु]

नेपालीजनता

‘आमा वृद्धा आश्रममा’ भन्ने यो शब्द सुन्दै ज्यादै निरस लाग्छ । अनि भावना र कठोरताको गहिराईको मापन गर्न तिब्र इक्छा जाग्छ । १० महिना कोखमा राखी १० धारा दुध चुसाएर कठोर संघर्ष गरेर आफुलाई सक्षम बनाएकी आमालाई आज वृद्धा आश्रममा राख्नेहरुको कठोर चित्त शायद कालो पत्थरले बनेको हुनुपर्छ ।

जन्म दिने आमालाई कृतिम आश्रममा एकलै छोडीदिने सन्तानहरुको मुटु कुन धातुले बनेको हुन्छ होला ? उनीहरुको हृदय कुन निर्जीव बस्तुले सजिएको हुन्छ होला ?

गरिबी हुनु अर्थात अभावमा जिउनु कर्मको फल हो । कर्मले जस्तो फल दिन्छ त्यसैमा पूर्ण सन्तुष्टि हुनु मानव जातिको गुण हो । अभावको हुरीबतासले जिन्दगि उजाड पार्दा पनि सन्तान प्रति आमाको मन कहिलै उजाड बन्दैन, केवल सन्तान संग-संगै ज्युउने तिनै आमाको कोमल अठोट बाँची रहन्छ ।

तर नेपालका बृद्द आश्रमहरुमा भने अभाव र गरिवीको चपेटा मुनि परेका आमाहरु बस्दैनन् । सुन फलाउने सन्तानका आमाहरु कथित सुख सयलको वहानामा आश्रमको बास बस्नु पर्छ । छोरा बुहारीहरू अमेरिका, युरोप तिर पैसा फलाउछन तर आफुलाई जन्म दिने आमालाई एकलै आश्रममा छोडेका छन् ।

 

तिनै सुन फलाउने छोराहरुले आफ्नो सन्तान संगै बसेर न्यानो बाँड्न चाहाने आमाहरुको भावनालाई चाहेर पनि बुझ्न सक्दैनन् । र आमाहरु छोरा-छोरीको हरखुसीमा साथ् दिन तयार हुन्छन, त्यहि भएर वृद्धा आश्रममा बस्ने आमाहरुले आफ्नै सन्तानको खुसीको लागि भन्ने गर्छन:-

‘म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छोडेका हैनन है बाबु ।’

यहाँ प्रस्तुत तस्बिरहरु मोरङको चतरामा एउटा वृद्धाश्रमको हो, जहाँ सम्मानीय राष्ट्रपति बिद्या देवी भन्डारीकी ममतामयी आमा मिथिला पाण्डे बस्नुहुन्छ । उहाँकै अध्यक्षतामा बृद्द आमाहरु बस्ने गर्छन ।

लेखक दिल निशानी मगर यात्राको क्रममा मिथिला वृद्धा आश्रममा पुगेको बेला आश्रमकि अध्यक्ष उर्फ राष्ट्रपति भण्डारीकि आमा संग कुराकानीको अंश जस्ताको त्यस्तै लोकान्तरबाट साभार गरेका छौ । हेर्नुहोस:

के गरेर दिन विताउँदै हुनुहुन्छ ?

फूल र बिरुवालाई पानी हाल्छु । पूजाआजा गर्छु । यस्तै छ ।

स्वास्थ्य कस्तो छ ? दुःख, बिमार छ कि ?

अब उमेर ढल्केपछि अलि अलि दुःख बिमार भएन भने के मजा भयो र ? तर अहिलेसम्म भगवानको कृपाले बाँचिरहेकै छु ।

एक्लै टोलाएर बसिरहनु भएको रहेछ । के सोच्दै हुनुहुन्थ्यो ?

यो पनि पढ्नुहोस  बैङ्कमा छिरेका चोर समात्ने सुरक्षागार्ड पुरस्कृत

कोसँग कुरा गरौं त ? यिनै बृद्ध–बृद्धा हुन् साथीहरु । कोही कान सुन्दैनन्, कोही कुरा बुझ्दैनन् ।

अनि छोरी, नातिनीहरु, आफन्तहरु भएको ठाँउमा जानुहोस् न त…

गएको त हो । अहिले यतै काम छ । बेलाबेलामा जाने–आउने चलिरहन्छ ।

त्यस्तो त पाहुना जस्तो भैहाल्यो नि हैन र ?

हामी सबै दुई दिनको पाहुना नै हौ । यो माया मोहको सांसारिक दुनियामा जति ठूलो महल भए पनि, सुन हिरा मोतीले ढपक्कै ढाकिए पनि आखिर यो भौतिक शरीर त्यागेर जानेबेला एकसरो लुगा नि फुकाल्छन् । जहाँ बस्ने मन हुन्छ, त्यहाँ घर हुन्छ । उहिले–उहिले ओडारमा पनि बस्थे मानिसहरु । आनन्द मिल्छ भने जहाँ बस्दा नि भयो ।

भनेपछि राष्ट्रपति निवासमा बस्दा आनन्द मिलेन ?

यो त कुरा बिगार्ने र उही पहिलाको जस्तो मलाई विवादमा ल्याउने प्रश्न गर्नुभयो । आनन्द भन्ने कुरा कहाँ बस्दा लाग्छ लाग्दैन त्यो आफूले चाहेर मात्र पनि हुँदैन । कतिपय कुराहरु चाहँदा चाहँदै पनि पूरा हुन सक्दैनन् । छोरीले सँगै बसौं आमा नभनेकी हैन । तर मेरो मनले मानेन ।

तपाईंको छोरी राष्ट्रपति भवनमा, तपाई आमा चाँहि वृद्धाश्रममा । यो अलिक सुहाएन कि ?

हो, धरैको प्रश्न यस्तै छ । तर यसको उत्तर दिनु आवश्यक छ जस्तो पनि लाग्दैन । हिजो गाउँमा किसानी काम गरेर बसियो । सुख–दुःख जीवन निर्वाह गरियो । अझै पनि गाँउलेहरु जो मेरा साथिहरु थिए, उनिहरु गाँउमा नै रमाईरहेका छन् । म धर्मकर्ममा विश्वास गरेको मान्छे । पाथिभरा र बराह क्षेत्रको समिपमा बसेको छु । महलको सुख सुविधा किन चाहियो र ?

छोरी महलमा बसेपछि आमा पनि संगै बस्दा के भयो त? एक मुठि चामल बढि पकाउने त हो नि होइन र ?

त्यो मेरो छोरीको निजी घर हैन । देशको सम्पति हो । अब उनीहरु व्यस्त हुन्छन् । त्यहाँ ठूला–ठूला मान्छे आउँछन् । देशको मुख्य नेतृत्वमा बसेका ठूला मानिसहरुलाई स–सना कुरामा किचलो गरिदिनु हुँदैन । वातारवरण सहज गराइदिनुपर्छ । मेरो पो छोरी हो त, देशको राष्ट्रपति हुन् नि उनी । यहाँ आमा–छोरीको, नातापाताको कुरा आउँदैन । चामल त यही प्रश्स्त छ । हाहाहा… (लामो हाँसो )

यो पनि पढ्नुहोस  कार्यदललाई ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश

तर एउटा कुरा, तपार्इं यो वृद्धाश्रममा नबसी नहुने भन्ने त छैन होला नि ?

मैले यशोधा पाण्डेसँग मिलेर २०५८ सालमा यो चतरामा श्री रामकुञ्ज अनाथ महिला आश्रम खोलेकी हुँ । म यो आश्रमको संस्थापक अध्यक्ष हुँ । माया लाग्छ नि । मेरा लागि यो राष्ट्रपति भवनभन्दा ठूलो कुरा हो । मोरङको बाहुनी,

गाउँमा ६ बिगाहा जमिन पनि छ । त्यहाँको उत्पादन यहि आश्रमको लागी प्रयोग गर्छु । वर्षको ३ महिना काडमाडौंको घर र बाँकी समय मोरङको खेती र आश्रममा बित्छ ।

त्यसो भए काठमाडौमा ३ महिना छोरीसग बस्ने गर्नु भएको छ हो ?

हैन, त्यहाँ मेरा अरु आफन्तहरु पनि छन् ।

अब फेरि छोरी भेट्न जानु हुन्न त ?

किन नजाने ? म फर्किएको धेरै भएको छैन । केही दिन बसँे । पहिला त छोरी भेट्न यही आएकी थिइन् । अहिले फेरि राष्ट्रपति बनेपछि कामको चाप होला । छोरीको फुर्सद मिलेमा हाम्रो भेट पक्कै हुनेछ । हुन त म काठमाडौं गए पनि, छोरी चतरा आए पनि आखिर आमा–छोरीको भेट हुने हो ।

राष्ट्रपती निवास बस्दा कस्तो महसुस भयो नि ?

खुसी लाग्यो । सन्तानको खुसी नै आमाको खुसी हो । राजनीतिमा धैरै पीडा, दुःख, कष्ट बेहोरेकी छोरी आज देशको अबिभावक बनेकी छिन् । रमाइलो पनि लाग्छ । तर आफू बुढी मान्छे, त्यहाँ भजन गाएर समय बिताउने कुरा भएन ।

छोरीसँग वस्दा के गफगाफ गर्नुभयो नि ?

उनीसँग लामो गफ गर्ने फुर्सद छैन । म धेरै कुरा जान्दिन । खायो, सुत्यो, उठ्यो । म त बिरामी हुँला जस्तो पो भएँ ।

अबको योजना के छ त ?

यो आश्रमलाई अझै व्यवस्थित र ठूलो बनाउने मन छ । अलि धेरै बृद्धाहरु राख्न सकियोस् । सामाज सेवामा मेरो धेरै रुची छ । उमेर, जाँगर र बल हुदाँसम्म आमा बुवालाई छोराछोरीले हेर्छन् । तर बुढो हुँदै गएपछि आमा बाबुलाई हेर्न गारो मान्दा रहेछन् । सबैका छोराछोरी त्यस्ता हुँदैनन् है फेरि ।

किन यस्तो महशुस भयो तपाईलाई ?

किनभने छोराछोरी अष्ट्रेलिया, जापान, जर्मन, अमेरिकामा बस्छन् । आमाबाबुलाई वृद्धाश्रममा राख्न खोज्छन् । पहिला धेरैले मसँग पनि कुरा गरे । तर यो आश्रमको क्षमता ठूलो छैन । सरकारले सहयोग गर्यो भने भविष्यमा अझै धेरै बावु–आमा राख्न मिल्ने क्षमताको आश्रम बनाउने र छोराछोरीले नहेरेका बाबुआमालाई राख्ने इच्छा छ ।

यो पनि पढ्नुहोस  नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले आज मंगलबार दिनभर विद्युत आपूर्ति बन्द गर्ने

अफ्ठ्यारो लाग्दैन भने बताईदिनुहोस् न, तपाईको छोरीले (राष्ट्रपती) ले तपाईलाई हेर विचार नगरेको भन्ने आरोप साँचो हो ?

अब भनम् भने त कुरा धेरै आउँछन् हगि । मनको कुरा बोलेर साध्य लाग्ने जमाना पनि छैन । तर खै किन हो म यहि बस्दा खुसी हुन्छु । म यहाँ बस्नुमा न छोरीको दोष छ, न आफन्तहरुको नै । मलाई केहि कुराको कमि छैन । जहाँ बसेपनि के भयो र ? उमेर पुगेपछि छोराछोरी साहारा हो भन्छन् । त्यो समय अझै आइसकेको छैन मेरा लागि । किनभने म स्वस्थ छु, रोग बिमार केहि छैन ।

हल्ला त राष्ट्रपतीले आमालाई वृद्धाश्रममा लगेर राख्नुभयो भन्ने फैलाइएको छ नि ?

यो म अध्यक्ष भएको वृद्धाश्रम हो । छोरिलाई दोष नदिनु ।

आफू अध्यक्ष भएको वृद्धाश्रममा आफू नै बस्नु पर्छ भन्ने पनि छैन होला । तपाई संचाललक पो हो त । यहाँ देशको इज्जतको कुरा हुन्छ, सुरक्षाको कुरा हुन्छ । हैन र ?

मैले इज्जत फाल्ने नराम्रो काम केही गरेकी छैन । पुलिस भाइहरु आउँछन्, कहिले काँहि । के छ आमा हाल खबर भनेर सञ्चो विसञ्चो सोधेर जान्छन् । सायद छोरीले बुझ्न पठाएकी हुन् कि । पुलसिले तपाईं ठूलो मान्छेको आमा हुनुहुन्छ, हामीलाई चिन्ता चासो हुन्छ, केही दुःख समस्या छ भने भन्नुहोस् है, हामी तत्कालै समाधान गर्छौं भन्छन् । म भन्छु – म भगवानको साथमा छु । केही समस्या छैन ।

भगवानको साथमा छु भनेर छोरीको प्रतिष्ठालाई पनि त भुल्नु भएन नि, होइन र आमा ?

प्रतिष्ठा जोगाउन छोरीले राम्रो काम गरुन् । आमाबाट गल्ती भएको कहिल्यै सुन्नु पर्ने छैन ।

तपार्इंको सेवाको भाव देखेर खुसी लाग्यो, अन्तिममा केही भन्नु छ कि आमा ?

कुरो नबिगारिदिनु, सबै राम्रो–राम्रो भनिदिनु । मेरा कारणले कसैलाई समस्या नहोस् । बाबुलाई आशिर्वाद ।

तस्बिर -दिल निशानी मगर 

२६,चैत्र.२०७४,सोमबार ११:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: