गुण्डाले नियन्त्रणमा लिएको सामानमा राजस्वको राता आँखा, व्यवसायीहरु आक्रोशित

नेपालीजनता

जनकपुर । भन्सार तिरेर ल्याएको ५ लाखभन्दा बढीको भारतीय मालसामान एक समूहले गुण्डा शैलीमा नियन्त्रणमा लिएको विषयमा स्थानीय व्यवसायीहरु आक्रोशित हुन पुगेका छन । लगत्यै सोही समूहले प्रहरीलाई फोन गरी उक्त सामान भन्सारको जिम्मा लगाएका थिए।

ज १ ख ८७९ नम्बरको टाटा कम्पनीको पिकअप भ्यानमा लोडगरी भारतबाट ल्याउँदै गरेको कपडा, धागा, एलास्टिक लगायतका सामान बुधबार राति ८ बजे जनकपुर उपमहानगरपालिकाको कुवारामपुरमा नियन्त्रणमा लिई चालक सन्तोषकुमार यादवलाई कुटपिट समेत गरेको भन्सार क्लियरेन्स एजेण्ट मोहम्मद रहमानले जानकारी दिए।

रहमानका अनुसार जटही भन्सारबाट विधिवत् राजस्व तिरेर जनकपुरतर्फ ल्याउँदै गरेको सामानहरु धनुषा फूलगामाका जयकुमार यादव र सर्लाहीका अन्तोस दास नेतृत्वको समूहले बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो। पछि प्रहरीलाई फोन गरी भन्सार बुझाइएको थियो। तीन मोटरसाइकल तथा एक भारतीय नम्बरको जिपमा सवार आएका ८ र१० जनाको उक्त समूहले ‘ व्यापार चौपट्ट पारी दिने धम्की’ दिएको उनले बताए।

जनकपुर भन्सार बुझाइएका उक्त सामान लैजान राजस्व अनुसन्धान विभाग, पथलैयाबाट आएका राजस्व अधिकृत तेजमणि काफ्ले समक्ष स्थानीय व्यावसायीहरुले चर्को विरोध जनाएका थिए। समस्या समाधानको पहल गर्न भन्सार कार्यालय पुगेका प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, उपाध्यक्ष सुरेन्द्र भण्डारी, महासचिव जीतेन्द्र महासेठलगायतले विधिवत् राजस्व तिरेर ल्याएको मालसामान पक्राउ गरी व्यावसायीहरुलाई दुःख दिएको आरोप लगाए। ‘ भारतबाट ल्याएको सामानको यही चेक गर्न भनेका हौं। राजस्व तिरेका छन् भने छाड्नु पर्‍यो। तिरेका छैनन् भने कानुनबमोजिम कारबाही गर्नु पर्‍यो। व्यापारीलाई अनावश्यक दुस्ख दिनु भएन।’ प्रदेशसभा सदस्य परमेश्वर साहले भने।

तर, राजस्व अधिकृत काफ्ले नियन्त्रणमा लिइएको सामान पथलैया लग्ने जिद्दी गर्न थालेपछि दुई पक्षबीच विवाद अझ बढेको थियो। पछि जनकपुर उद्योग वाणिज्य संघ र काफ्लेबीच लिखित सहमति भई समस्या समाधान भएको थियो। सहमतिमा सामान बर्दीवासस्थित राजस्व विभागको इकाई कार्यालयमा लगी जाँज गर्ने उल्लेख छ।

यो पनि पढ्नुहोस  बच्चा जन्माउने योजना अघि ध्यान दिनुपर्ने कुरा

तस्करहरु बीचको विवाद
पक्राउ परेका सामान क्लियरेन्स एजेन्टहरु रहमान र बतुल्ला समूहको हो। उनीहरु उक्त सामान स्थानीय श्रीगणपति सारी, रोशन वस्त्रालय तथा महावीर जेनरल स्टोर्सका लागि भारतबाट ल्याउँदै गरेका थिए। दुई महिना अघिसम्म जयकुमार यादव र अन्तोस दासको समूह पनि धनुषाबाटै क्लियरेन्स एजेन्टको व्यवसाय गर्दै आएका थिए। मालसामान ल्याएबापत एजेन्टहरु निर्धारित कमिसन पाउँछन्।

अधिकांश क्लियरेन्स एजेन्टहरु भन्सार, राजस्व तथा स्थानीय प्रशासनको मिलिमतोमा भारतबाट वैध र अवैध रुपमा मालसामान आयात गर्ने गर्छन्। करिब दुई महिनाअघि यादव र दास समूहको अवैध सामान प्रहरीले धनुषाको सीमावर्ती गाउँ बहेरावेलामा नियन्त्रणमा लिएको थियो। आफ्नो सामान पक्राउ परेपछि आक्रोशित बनेका यादव र दासका समूहले राजस्व तिरेको सामान गुण्डा शैलीमा पक्राउ गर्न लगाएको आरोप रहमानको छ।

६,बैशाख.२०७५,बिहीबार १९:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: