रौतहटमा पेट्रोलियम पदार्थको हाहाकार

नेपालीजनता

रौतहट । सीमा क्षेत्रका पेट्रोल पम्पबाट इन्धन भारत तस्करी हुन थालेपछि बिहीबारदेखि प्रहरीकै उपस्थितिमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने नीति लागू गरिएको छ ।

रौतहट प्रशासनले जिल्लाका सबै पम्पमा सुरक्षाकर्मी खटाएको छ । राति इन्धन बिक्री गर्न पम्पलाई रोक लगाएको छ । पम्प सञ्चालकले पेट्रोलियम पदार्थको कृत्तिम अभाव देखाएपछि रौतहटमा हाहाकार हुन पुगेको हो ।

नेपाल र भारतबीच मूल्य अन्तर बढेपछि नेपालबाट पेट्रोलिय पदार्थको तस्करी बढेको छ । अहिले नेपालमा भारतभन्दा पेट्रोल प्रतिलिटर २२ रुपैयाँ र डिजेल २८ रुपैयाँ सस्तो छ । दुबै देशका तस्करले ग्यालेन र जर्किनमा इन्धन बोकेर भारततर्फ तस्करी गरिहेका छन् । पम्पले इन्धनको अभाव देखाएपछि पेट्रोलियम पदार्थको भारत तस्करी भएको उजुरी परेपछि सुरक्षाकर्मीको रोहबरमा बिक्री गर्ने ब्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए ।

‘केही ठूला पम्पबाट समेत इन्धनको तस्करी भइरहेको छ,’ उनले भने, ‘अब भारततिर तस्करी गर्नेलाई कारबाही हुन्छ । इन्धनको तस्करी रोक्न ग्यालेन र जर्किनमा इन्धन बिक्री गर्न प्रतिबन्ध लगाइएको छ ।’ रातको समयमा इन्धन तस्करी हुने भन्दै प्रशासनले रोक लगाएको हो । गौर, शिवनगर र गरुडालगायतका सिमाक्षेत्रका पम्पहरुबाट भारतमा इन्धन तस्करी भइरहेको छ ।

नाफा बढी हुने भएपछि भारतीय सीमा नजिकका पेट्रोल पम्पबाट बिचौलियाले पेट्रोलियम पदार्थ भारततर्फ ओसारपसार गर्दै आएका छन् । उनीहरूले १० लिटरदेखि ५० लिटरसम्मका प्लास्टिकका जर्किन एकैपटक बोकेर इन्धन भारत लगेर बेच्छन् । डेढ सातादेखि जिल्लाभरि पेट्रोलियम पदार्थको अभाव छ । ठूला र साना गरी ४४ वटा पेट्रोल पम्प रौतहटमा छन । रातमा भारतीय नम्बर प्लेट भएका टयाक्टरले ड्रममा भरेर डिजल र पेट्रोल लैजाने गरेको भन्दै स्थानीयले प्रशासनलाई जानकारी गराएका थिए । गौरको पम्पबाट लक्ष्मीपुर, बेलबिछवा, ब्रहम्पुरी, महादेवपट्टी हुँदै बैरगनीया बजार लग्ने गरिएको छ । राजपुर दमार, बंकुल, कुडिया, रामपुर खाप, औरैया, जयनगर, मठिया महुलिया, नरकटिया नाकाबाट भारतीय बजारमा इन्धन तस्करी हुने गरेको छ ।

यो पनि पढ्नुहोस  लाइसेन्सप्राप्त हतियार यसरी खोसिए, ५ सय हतियारमाथी अनुसन्धान जारी

कहाँ जान्छ इन्धन
नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदिप यादवले पम्प सञ्चालकलाई तालिका अनुसार नै इन्धन वितरण गरिएको बताए । ‘हामीले प्रक्रिया पुर्‍याएर डिजेल–पेट्रोल दिएका छौँ,’ उनले भने, ‘यहाँ कुनै अभाव छैन । किन अभाव देखाइएको हो बुझ्छौं ।’ आयल निगमबाट रौतहटमा प्रति महिना डिजल १ लाख र पेट्रोल ५० हजार लिटर आउँछ । यति धेरै इन्धन कहाँ गयो भन्नेमा निगम आफैं आश्चर्यमा परेको छ । इन्धन तस्करी हुन थालेपछि प्रशासनले निगमलाई कडाइ गर्न अनुरोध गरेको छ ।
इन्धन बिक्रेताहरूले पम्पबाट नेपाली ग्राहकलाई नदिई भारतीय ग्राहकलाई इन्धन दिन थालेको गुनासो स्थानीयले प्रशासनमा गरेका छन । गहुँ, मसुरो भित्र्याउन थ्रेसर मेसिन प्रयोग गर्नुपर्ने र त्यसका लागि इन्धन खरिद गर्दा पम्प संचालकले दिन आनाकानी गरेको किसानहरुको गुनासो छ ।

पेट्रोल पम्प सञ्चालक भोला दासले खेतीको समय भएको र सवारी सधानको संख्या बढेकाले इन्धनको माग बढेकाले अभाव देखिएको बताए । ‘तस्करी भएको होइन,’ उनले भने, ‘यस्तो समयमा केही समस्या हुन्छ । भारत तस्करी हुन थाल्यो भने रोक्छौं ।’

६,बैशाख.२०७५,बिहीबार २१:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: