एमडीको भर्नामा मेडिकल कलेजको लुट

नेपालीजनता

काठमाडौँ । एमडी तहको कलेजको भर्नामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निजी कलेजहरूले मनोमानी गरेका छन् । चितवनको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, भैरहवाको भैरहवा मेडिकल कलेज र वीरगन्जको नेसनल मेडिकल कलेजहरूले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी शुल्क मागेको भर्ना गर्न पुगेका विद्यार्थीहरूले बताएका छन् । एमडी तहको भर्ना शुल्क आइओएमले २२ लाख तोकेको छ । सुरुमा ११ लाख र बाँकी किस्तामा शुल्क बुझाउने आइओएमले काउन्सिलिङ गरेको छ । एमडी तहमा भर्ना गर्न ओपन हाउस काउन्सिलबाट छनोट भएर चितवन मेडिकल कलेजमा भर्ना गर्न पुगेका एक विद्यार्थीले कलेजले ३१ लाखभन्दा बढी मागेको बताए । उनले भने, ‘न केही कागज छ न कुनै शीर्षक त्यतिकै बढी शुल्क मागे । उनीहरू आइओएमले तोकिएको शुल्कमा भर्ना नगर्ने बताउँछन् ।’ उनका अनुसार एमडी तहमा भर्ना गर्न पुगेका १९ जना विद्यार्थीहरू बढी शुल्क मागेकाले भर्ना नगरी बसेका छन् । ती विद्यार्थीले भने, ‘हामीले अन्य निजी कलेजमा पनि बुझ्यौँ । त्यता पनि बढी पैसा मागेर साथीहरू तनावमा हुनुहुँदोरहेछ ।’ त्यस्तै गण्डकी मेडिकल कलेज पोखरा भर्ना हुन पुगेका अर्का विद्यार्थी कलेजले ३१ लाखभन्दा बढी मागेकाले भर्ना नगरेको बताए । उनले भने, ‘त्रिविका निजी कलेज सबैले भर्नामा सिन्डिकेट गरेका रहेछन् । हामीले आइओएममा खबर गरेका छौँ । अब के गर्ने सबैसँग छलफल गरेपछि थाहा हुन्छ । हामी आइओएमले तोकेको भन्दा ११ लाख बढी तिर्न सक्दैनौ ।’ अघिल्लो शैक्षिक सत्रमा त्रिवि कार्यकारी परिषद्ले विशेषज्ञ तह अध्ययनका लागि ३१ लाख रूपैयाँ शुल्क तोकेको थियो । संस्थानको चैत्र १२ गते बसेको बैठकले सो शुल्कबाट आठ लाख रूपैयाँ घटाएर २२ लाख लिने निर्णय गरेको थियो । त्रिवि अन्तर्गतका सात मेडिकल कलेजमा चिकित्सा शास्त्रतर्फ विशेषज्ञ तहको पढाइ हुँदै आएको छ । बढी भर्ना शुल्क माग गरेपछि विद्यार्थीहरूले आइओएम, नेपाल मेडिकल काउन्सिल, त्रिभुवन विश्वविद्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निवदेन दिएका छन् । आइओएमका डीन जगदीशप्रसाद अग्रवालका अनुसार निजी कलेजहरूले २२ लाखमा पढाउन नसक्ने भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । अग्रवालले भने, ‘हामीले त २२ लाखमै पढाउने भनेर अघिल्लो वर्ष ३१ लाखमा पढाइ भइरहेका कोर्सको भर्ना शुल्क घटाउने निर्णय गरेका थियौँ । उनीहरू अदालत गएका छन् । यस विषयमा फैसला भएपछि आधिकारीक धारणा राख्नेछौँ ।’

२,जेष्ठ.२०७५,बुधबार १०:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: