प्रहरी प्रशासनको संरक्षणमा इन्द्रावतीमा दोहन

नेपालीजनता

दोलालघाट । प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिहरुलाई मोटो रकम दिएर क्रसरको नाममा इन्द्रावती दोहन बढ्दै गएको छ । चुल्ठे, मुन्द्रे र गुण्डाहरु इन्द्रावती नदीमा जोकोहीले पनि देख्न सक्दछन् । मापदण्डविपरीत नदीमा नै जेसिभी राखी खुलेआम नदी दोहन भइरहेको थाहा पाएर पनि प्रहरी, प्रशासन र जनप्रतिनिधि मौन छन् । व्यवसायीहरुले अवैध ढंगबाट उत्खनन गरेवापत मोटो रकम उनीहरुलाई दिएकै कारण यस्तो दोहन व्यापकमात्रामा बढ्दै गएको छ । इन्द्रावती नदीमा सञ्चालित क्रसर उद्योगको मनलाग्दी उत्खननले सिन्धुपाल्चोक सदरमुकाम चौतारा जोड्ने पुल धरापमा परेको छ । क्रसरको दोहनका कारण चौतारा, भीमटार, सिपापोखरे, नवलपुर जोड्ने इन्द्रावतीको पक्की पुल धरापमा परेको छ । स्काभेटर प्रयोग गरी नदीबाट बालुवा र गिट्टी उत्खनन गरिँदै आइएकाले सदरमुकाम जोड्ने पक्की पुल धरापमा परेको हो । इन्द्रावती नदीको किनारमा स्काभेटर प्रयोग गरेर नदी उत्खनन गरिँदै आएको छ । क्रसरको दोहनको कारणले इन्द्रावतीको स्वरूप नै कुरूप बन्दै गएको छ । इन्द्रावती नदीमा स्थानीय प्रशासन र जनप्रतिनिधिले पटक–पटक अनुगमन गरी नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि रोडा, गिटी र बालुवाका लागि तस्करहरूले नदी दोहन गरिरहेका छन् । मेलम्चीदेखि दोलालघाटसम्म २२ वटा क्रसर उद्योग सञ्चालनमा छन् । स्थानीयले नदीजन्य पदार्थको उत्खनन गर्न नहुने भन्दै स्थानीय प्रशासनलाई पटक–पटक आग्रह गरे पनि तस्करहरूले भने स्थानीयलाई अटेर गर्दै उत्खनन गरिरहेका छन् । जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोसी नदीबाट जिल्ला समन्वय समितिको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गर्दै आएका छन् । जिसस र नगरपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट मनोमानी तरिकाले गिट्टी, बालुवा, उत्खनन भइरहेको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई स्थानीयले बारम्बार जानकारी गराउँदासमेत उनले रोक्नेतर्फ कुनै पहल गरेका छैनन् । उद्योगबाट निस्किएको धूलो र धुवाँका कारण वरपरको वातावरणसमेत धुलाम्मे हुन्छ । यस्तै अवस्था रहे केही वर्ष भित्रमा नै सिपाघाटबाट नवलपुर, चौतारा जोड्ने इन्द्रावतीको पक्की पुलसमेत भासिने स्थानीयहरु बताउँछन् । पुल निर्माण हुँदा नदीको सतह निकै माथि थियो तर अहिले तीन मिटर भासिएको छ । अवैध उत्खननका कारण इन्द्रावती नदी किनारको खेतीयोग्य जमिनमा उत्पादनसमेत घट्दै गएको छ । अहिले खेतीपाती गर्ने जमिन सुख्खा भएको छ । अवैध क्रसर उद्योगका कारण नदी गहिरिँदै जाँदा सिँचाइमा समस्या देखिएको छ । खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । यसरी अवैध क्रसर सञ्चालन गरिरहँदा नदीको अस्तित्वसँगै किनारा आसपासका जमिन र बस्ती नै जोखिममा परेका छन् । अवैध क्रसर उद्योगका कारण सिन्धुपाल्चोक र काभ्रेको सीमामा रहेका झण्डै छ हजार रोपनी खेतीयोग्य जमिनमा असर परेको छ । नेपाल सरकारले क्रसर सञ्चालनका लागि राजमार्ग र खोला किनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुनुपर्ने मापदण्ड तोकेको छ । स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासन सबैको मिलेमतोमा अवैध रूपमा नदी उत्खनन बढ्दै गएको छ ।

यो पनि पढ्नुहोस  चाकडीबाज र भ्रष्टले डुबाए राष्ट्रिय प्रकृति संरक्षण
२,जेष्ठ.२०७५,बुधबार १०:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: