गौरीफन्टा लुटको अखडा

नेपालीजनता

कैलाली । भारतमा ज्याला–मजदुरी गरेर परिवारका सदस्यको पेट पाल्ने सपना बोकेर घर फर्किने नेपालीहरू भारतीय सुरक्षाकर्मीहरूबाट मात्रै नभई नेपाली सुरक्षाकर्मीहरूबाट समेत लुटिने गर्छन् । घुस नदिईकन न त भारतीय सुरक्षाकर्मीले उनीहरूलाई छोड्छ, न त नेपाली सुरक्षाकर्मीहरूले । त्यसैले त गौरीफन्टा नाका लुटको अखडा बन्दै आएको छ । जुन कुरा जोकोहीले पनि नाकामा गई हेरेका खण्डमा प्रष्ट हुन्छ । भारतमा ज्याला मजदुरी गरेर स्वदेश फर्कने नेपालीहरूसँग ५० देखि ५ सय भारुसम्म असुल्ने काम सुरक्षाकर्मीहरूबाट हुँदै आएको छ । पश्चिम नेपालसँग जोडिएका सीमा नाकाबाट घर फर्कने विपन्न नेपालीहरू लुटिने र कुटिने क्रम रोकिएको छैन । प्रायः चाडपर्वको बेला सीमा नाकामा हुने अवैध असुलीबाट आजीत नेपालीहरू यसपाली भने सामान्य समयमा पनि लुटिन थालेका छन् । कैलालीमा रहेको नेपाल–भारत गौरीफन्टा नाकामा खेतीको सिजनसँगै नेपालीहरू फर्कने क्रम बढेको छ । तिनै नेपालीहरूसँग असुली गर्ने काम सुरक्षाकर्मीहरूबाट भएको सहजै देख्न सकिन्छ । भारतका विभिन्न सहरमा मजदुरी गरी गौरीफन्टा नाकाबाट घर फर्कनेहरूमाथि भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गर्ने गर्दछन् । विगतमा यो क्रम दशैँ, तिहार, बिसुलगायतका चाडपर्वका बेला बढी हुन्थ्यो । तर यसपाली भने सामान्य समयमा पनि चाडपर्वको बेलाभन्दा दोब्बरले असुली भइरहेको छ । सीमा क्षेत्रमा हुने यस्तै ज्यादती रोक्नका लागि खटिएका सुरक्षाकर्मी ज्यादती रोक्नुको सट्टा नेपालीबाट असुली गर्दै आएका छन् । भारतीय पक्षले कैलालीको गौरीफन्टा नाकामा सयौँ नेपालीलाई लुट्दै, कुट्दै सीमा कटाउने गरेका छन् । लामो समयपछि घर फर्किंदा उमंग हुनुपर्नेमा उल्टै बाटोमा खेप्नुपरेका अनेकौँ झन्झट र सास्तीले कैलाली पुगेका अधिकांश मजदुरहरूको अनुहार मलिन देखिन्छ । घर फर्किंदा सीमामा सुरक्षाकर्मीको अवैध असुली, सवारी साधनले लिने दोब्बर÷तेब्बर भाडा आदिका कारण पहिल्यैदेखि सर्वसाधारण नेपालीहरूले सास्ती खेप्नुपरेको छ । चाडपर्वका बेला लत्ताकपडासहित झिटीगुन्टा लिएर घर फर्किने क्रममा सुरक्षाकर्मीहरूबाट त्यस्ता मजदुरी गरेर फर्केकाहरू पीडित हुँदै आएका छन् । नेपाली सुरक्षाकर्मीहरूबाट हुने अवैध असुलीका बारेमा जिज्ञासा राख्दा कैलालीका प्रहरी प्रमुख उपरीक्षक विनोद घिमिरले सो समस्या निराकरणका लागि पहल भइरहेको बताए ।

२,जेष्ठ.२०७५,बुधबार ०९:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: