बालुवाटारमै रोकियो सरुवाको फाइल

नेपाली जनता

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले औषधि ब्यवस्था विभागमा हुने भ्रष्टाचारबारे धेरै गुनासो आएपछि महानिर्देशक नारायणप्रसाद ढकाललाई हटाइन् । विभागमा औषधि आयात गर्ने कम्पनीलाई अनुमति दिने क्रममा बार्षिक दसौं करोड रुपैयाँ चलखेल हुने गरेको उजुरी मन्त्री अर्यालसमक्ष परेको थियो । विभागबाट औषधि उद्योगको अनुगमनदेखि प्रत्येक काममा महानिर्देशक ढकालले आर्थिक चलखेल गर्दै आएको आरोप छ ।
उपेन्द्र यादव स्वास्थ्य मन्त्री नहुँदै राज्यमन्त्री अर्यालले ढकाललाई हटाएकी थिइन् । तर विभागीय मन्त्री प्रधानमन्त्री नै भएका कारण ढकालको फाइल बालुवाटारमा अड्कियो । ढकालको मात्र होइन, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा, जनस्वास्थ्यका प्रशासक डा. मोहमद दाउदलगायत दर्जनौं बद्नाम कर्मचारीलाई हटाउन राज्यमन्त्री अर्यालले निर्णय गरेर पठाएको फाइल पनि बालुवाटारमै रोकिएको स्रोत बताउँछ ।
मुख्यसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीसमक्ष उनलाई हटाएको पत्र नै पुग्न दिएनन् । र, उनी थमौती भए । स्याङ्जा घर भएका महानिर्देशक ढकाल मुख्यसचिव रेग्मीका निकट हुन् । राज्यमन्त्री अर्यालले उनलाई हटाए पनि मुख्यसचिव रेग्मी र बिष्णु रिमाललाई नै प्रभावमा पारी उनी थमौती हुन सफल भएका छन् । प्रधानमन्त्री ओलीको सरकार सुशासन कायम गराउन कृतसंकल्पित छ, तर उनकै सचिवालयमा मुख्यसचिव रेग्मी र सल्लाहकार रिमालले भ्रष्ट र माफियाहरुसँग मिलेर काम गर्दैआएका छन् भन्ने कुरा महानिर्देशक ढकाल प्रकरणले उजागर गरेको छ । प्रधानमन्त्रीको सचिवालयका कर्मचारीहरु नै भ्रष्टको पंजामा परेपछि मन्त्री र राज्यमन्त्रीहरुले सुधार गर्न खोजे पनि कामयाव हुन सकेका छैनन् । त्यसको उदाहरण हुन्, नारायण ढकाल ।
यसैबीच संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्री भएपछि ढकालको मनोबल झन् बढेको छ । ढकालले औषधि ब्यवस्था विभागबाट विदेशी औषधि आयात गर्नका लागि ३७ वटा कम्पनीलाई अनुमति दिने क्रममा ठूलो आर्थिक चलखेल गरेको स्रोतले बताएको छ । विभागका महानिर्देशक ढकालले एक कम्पनी बराबर १५ लाखदेखि ५० लाख रुपैयाँसम्म कमिशन लिएर अनुमति दिएको आरोप छ । विभागले हरेक बर्ष औषधि आयातका लागि विदेशी कम्पनी छनोट गर्दैआएको छ । यसरी कम्पनी छनोटका क्रममा विभागका महानिर्देशक ढकालले पहिले नै सेटिङ गरी ती औषधि उत्पादन गर्ने उद्योगको निरीक्षणमा टोली पठाउने गर्दछन् । जुन जुन कम्पनीले उनलाई भनेअनुसार घुस दिन्छन्, निरीक्षण टोलीलाई त्यही औषधिको उत्पादन ठीक छ भनेर सिफारिस गर्न लगाउने र तिनैलाई अनुमति दिने गरेको आरोप पनि ढकालमाथि छ । सुरुमा ३६ वटा कम्पनीमात्र छनोट भएकोमा पनि बीचमा ठूलो आर्थिक चलखेल गरी महानिर्देशक ढकालले अर्को कम्पनीलाई पनि अनुमति दिएका छन् । जुन कुरा टिप्पणी उठाउने मातहतका शाखाका कर्मचारीले पनि पछि मात्र थाहा पाएका छन् । औषधि कम्पनीको अनुमति दिने क्रममा आर्थिक चलखेल भएको बारेमा महानिर्देशक ढकालले भने–‘झुटा कुरा हो । जसले तपाईलाई यस्तो भने उनीहरुले नै चलखेल गरेका होलान् ।’

२६,असार.२०७५,मंगलवार २१:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: