संसदमा उनीहरू कसलाई थर्काउँछन् ?

नेपाली जनता

काठमाडौं । सामान्यतया संसदमा विपक्षीले आफ्ना कुराहरु जोडदार ढंगले उठाउने गर्छन् । भनिन्छ सरकार सत्तापक्षको सदन र सडक प्रतिपक्षको हो । तर संसदमा सत्तापक्षकै सांसदहरुले सरकार र आफ्नो पार्टीलाई बेलामौका धम्क्याउने गरेका छन् ।
जिल्लाबाट निर्वाचित भएर संसदमा आएर के–के न गछौं भन्ने सोचेका सांसदहरु अहिले निराश बनेका छन् । सरकारको गलत कार्यशैली र जनअपेक्षा अनुसार काम हुन नसकेकाले सांसदहरु निराश बनेका छन् । पार्टी नेतृत्वले एकलौटी ढंगले काम गर्नु र सामान्य सांसदको कुरा नसुन्नुले उनीहरु चिन्तित बनेका छन् । बजेटपनि जनअपेक्षा अनुसार नआएपछि सत्तापक्षका सांसदहरु नै सरकारको विरुद्धमा खुलेरै उत्रेका छन् ।

हुन त पार्टीले सरकारको विरुद्धमा नबोल्न पटक पटक सांसदलाई चेतावनी र धम्की दिँदै आएपनि त्यसलाई कसैले वास्ता गरेका छैनन् । अझ उनीहरु हामी त जनताबाट निर्वाचित सांसद जनताको कुरा सुन्नुपर्छ त्यस्तै उस्तै हो भन्न थालेका छन् ।

पछिल्लो समयमा नयाँ सांसदहरुले आफ्नो भूमिका प्रभावकारी बनाउँदै आएका छन् । कैलाली २ बाट निर्वाचित सांसद झपट बहादुर रावल, कैलाली ५बाट निर्वाचित नारदमुनी राना, कञ्चनपुर २ बाट निर्वाचित नरबहादुर धामी, दाङ १ बाट मेटमणि चौधरी, अछामबाट निर्वाचित यज्ञबहादुर बोगटी, ताप्लेजुङबाट निर्वाचित योगेश कुमार भट्टराई, जुम्लाबाट निर्वाचित गजेन्द्र बहादुर महत, हुम्लाबाट निर्वाचित छक्कबहादुर लामालगायतका सांसदहरुले सरकारप्रति कडा टिप्पणी गर्दै आएका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका हुन् । रावलले आफ्नो क्षेत्रमा कुनै पनि मन्त्रालयको बजेट परेको भन्दै बजेट पुस्तिका नै मन्त्रिलाई फिर्ता गरिदिएका थिए । उनले मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट पारेको भन्दै संसदमा आलोचना गरिरहेका छन् ।

सांसद चौधरीले मन्त्रीलाई जेल हाल्नुपर्ने समेत धम्की दिएका छन् । उनलाई पनि बजेट नपरेको र योजनामा नसमेटिएको चिन्ता छ । सांसद महतले भने आफ्नो भूमिका के हो भन्ने बारेमा संसदमा कुरा उठाइरहेका छन् । उनी विशेषगरी जिल्लामा समस्या भएको र जनताले सरकारबाट केही अनुभूति नपाएको भन्दै आएका छन् ।नेपाली काँग्रेसमा प्रकाश रसाइली (स्नेही), रामबहादुर विष्ट, रंगमती शाहीलगायतका सांसदहरुले आफ्नो भूमिका देखाउँदै आएका छन् । प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भूषाल र मिनेन्द्रप्रसाद रिजाल संसदीय राजनीतिमा जानकार भएकाले उनीहरुको भूमिका थप सशक्त बन्दै गएको छ । काँग्रेसले पछिल्लो समयमा डा. गोविन्द केसीको मुद्धालाई उठाउँदै आएको छ । धेरैजसो सांसदहरुले पार्टीको लाइन र नीति नियमको विषयमा चर्को कुराकानी गर्दै आएका छन् भने केही सांसदहरुले जनताको कुरा गर्नुपर्छ भन्दै विशेषगरी गाउँघरको र क्षेत्रको समस्या उठाउँदै आएका छन् ।

यो पनि पढ्नुहोस  गगन थापाले आईजीपी खनाललाई बर्खास्त गर्न आन्दोलन गर्ने

नेकपाका सांसदहरु लालप्रसाद साँवा लिम्बु, घनश्याम खतिवडा, पदम गिरी, रविन्द्रराज शर्मा, डा. सूर्यप्रसाद पाठक, धुर्वकुमार शाहीलगायतका सांसदहरुले जनजिविकाको पक्षमा आवाज उठाउँदै आएका छन् । सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेललाई नेकपाले बोल्नै नदिने समेतको रणनीति तयार गर्न थालेपछि उनीहरु सत्तासँग रुष्ठ बनेका छन् । पौडेल र सुवाललाई सरकारको विरोध गरेको भन्दै संसदमा बोल्न नदिने तयारी भएपछि उनीहरु खुलेरै सरकारको विपक्षमा उभिएका हुन् । बाम गठबन्धनको समर्थनमा झापा ३ बाट निर्वाचित राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङदेनले एउटा राजा हटेपनि अरु धेरै राजाहरुको जन्म भएको र प्रमुख पार्टीहरुले आफूहरुलाई व्यवास्ता गर्दै गरेकोमा सदनमै कडा आपत्ति गरेका छन् ।

संसदीय सुनुवाई समितिमा साना दलको प्रतिनिधित्व नभएको भन्दै उनले नयाँ महाराजहरु भनेर सम्बोधन गरेका थिए । भक्तपुरबाट निर्वाचित नेकपा सांसद महेश बस्नेतले पनि गाउँठाउँका कुरा उठाउँदै आएका छन् । पूर्वमन्त्री समेत भईसकेका बस्ने प्रधानमन्त्री ओलीका अत्यन्तै प्रिय पात्रका रुपमा चिनिन्छन् । सांसद् नै नहुँदा पनि बस्नेतलाई ओलीले मन्त्री बनाएका थिए । २०७० सालको निर्वाचनमा भक्तपुरबाट हारेका बस्नेतले यसपालि नेपाली काँग्रेसका दमननाथ ढुंगानालाई हराएका थिए । बजेटमाथि छलफल हुने क्रममा बस्नेतले प्रधानमन्त्री ओलीले आफ्नो निवास बालकोट वरपर बजेट नलगेको र प्रधानमन्त्रीको गाउँमा मात्र विकास भयो भनेर आलोचना गर्नु बेक्कार भएको भनी संसदमा अरु सांसदहरुको प्रश्नको घुमाउरो अर्थमा जवाफ दिएका थिए । पछिल्लो समयमा भक्तपुरमा बाढीले धेरै क्षति गरेपछि सरकारका विरुद्धमा सर्वसाधारणप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत विपतको अवस्थामा सरकार र नेतृत्वलाई उडाउनेहरु प्रति साइबर क्राइमको मुद्धा चलाउनु पर्ने समेत धम्की दिएका थिए ।

न्यूनतम आवश्यकतालाई वेवास्ता गर्दै सरकारले ठुला र महत्वाकांक्षी योजना ल्याउँछु भनेर गफ दिन थालेपछि ओलीको पानी जहाज आयो भन्दै त्यो बेलामा सामाजिक सञ्जालमा ओली र सरकारको विरोध भएको थियो । ( आलोचना साप्ताहिकबाट )

३०,असार.२०७५,शनिबार १२:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: