रिहालगत्तै अदालत परिसरमै पक्राउ परे प्रकाण्ड

नेपाली जनता

काठमाडाैं । नेकपा (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन् ।

उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले रिहा गर्न आदेश दिएलगत्तै पक्राउ गरेको हो ।

काठमाडौंबाट साउन २३ गते पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

नरेन्द्रबहादुरसिंह विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

अवैध रूपमा चन्दा संकलन गरेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चकै आदेशअनुसार बिहीबार अदालतमा उपस्थित गराइएको थियो । नरेन्द्रबहादुरसिंह विश्वकर्माले सर्वोच्च अदालतमा साउन २७ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

साउन २३ गते बुधबार विश्वकर्मासहित तीनजनालाई प्रहरीले काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीसँगै पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका– ४ का ५० वर्षीय मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका– ६ का ३३ वर्षीय हरिचन्द्र आचार्य छन् ।

प्रकाण्डलाई विभिन्न व्यवसायीबाट ७ करोड रुपैयाँबराबर चन्दा संकलन गरेको प्रहरीको दाबी छ ।

यो पनि पढ्नुहोस  कर्णालीमा सञ्‍चारमैत्री कानुन ल्याउँछु : मन्त्री सीता नेपाली
१,भाद्र.२०७५,शुक्रबार १८:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: