खरेललाई आईजीपी बन्न २० लाख मागिएको खुलासा

नेपाली जनता

काठमाडौ । वि।सं २०५३ फागुन १५ मा मोतीलाल बोहोराको पदावधि सकिँदै थियो । अच्युतकृष्ण खरेल र धुर्वबहादुर प्रधान भावी आइजिपीका दाबेदार थिए । खरेललाई आइजिपी बन्नका निम्ति २० लाख रूपैयाँ तयार पार्ने सुझाव आयो ।

सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली ब्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल दुविधामा परे । उनको प्रतिक्रिया के रह्यो रु के खरेल आइजिपीको फुली लगाउनको निम्ति त्यो प्रस्ताव स्विकार्न तयार भए रु पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको प्रकाशोन्मुख आत्मकथा ती शक्तिशाली ब्यक्तिहरूको वर्णन र यस्ता थुप्रै चाखलाग्दा कथाक्रमले भरिएको छ । अच्युतकृष्ण फुटबलका सोखिन थिए । खेल्न पाइन्छ भनेरै प्रहरीमा भर्ती भए । कालान्तरमा उनले यी दुवै क्षेत्रमा सर्वोच्च तहसम्मको यात्रा तय गरे ।

उनी फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने, प्रहरी फोर्समा महानिरीक्षक । आफ्नो फुटबल करिअरमा उनले खुब प्रशंसक कमाए । प्रहरी फोर्समा धेरैसँग दुश्मनी मोले । चितवन र भैरहवामा गुन्डा र तस्करहरूसँग भिडे । डाँका पक्रन सीमापार गए । तस्करको बचाउ गर्ने राजनीतिक नेताहरूसँग पटक–पटक झुत्ती खेले । लागुपदार्थ दुव्र्यसन र गुन्डागर्दी रोक्न लामो कपाल पाल्नेलाई समात्दै कपाल कटाइदिने गरेको घटना चर्चित छ । करिब ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल महत्वपूर्ण राजनीतिक तथा प्रहरी संगठनभित्रका उथलपुथलपूर्ण घटनाक्रमका साक्षी हुन् । पछिल्लो समय साढे ३३ किलो सुन तस्करी छानबिनमा केही वरिष्ठ प्रहरी अधिकृत मुछिएका छन् । खरेलको आत्मकथाले सुन तस्करीका थप रहस्य उजागर गरेको छ। विगतमा दरबारकै निगरानीमा सुन तस्करी हुन्थ्यो भन्ने उनले खुलासा गरेका छन् ।

प्रजातन्त्र पुनर्स्थापनापछि राजनीतिक दलका केही नेताले तस्करको पक्षमा लागेर प्रहरी संगठनमाथि दबाब दिएको वृत्तान्त पनि आत्मकथामा छ । प्रहरी इतिहासमा पूर्व महानिरीक्षक डिबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडिसी कर्णेल भरत गुरुङ पक्राउ परेको घटना चर्चित छ । उक्त प्रकरणमा लामा र गुरुङसँग बयान लिने जिम्मेवारी खरेललाई थियो । सार्वजनिक चासोका साथ हेरिएको यो ‘हाई–प्रोफाइल’ घटना कसरी अघि बढ्यो भन्नेबारे खरेलले विस्तार लगाएका छन् । २०५७ साउन २२ गते गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको मृत्यु भयो । राजपरिवारकै सदस्य संलग्न यो घटना प्रहरी संगठन निम्ति सम्भवतः सबभन्दा दुविधापूर्ण परिस्थिति थियो । त्यति बेला दोषीलाई जोगाउन कसरी चलखेल भयो भन्ने रोचक वर्णन आत्मकथामा छ । यति मात्र होइन, प्रहरी नियुक्ति, सरुवा–बढुवामा हुने राजनीतिक हस्तक्षेपदेखि संगठनभित्रै उपल्लो दर्जाका हाकिमलाई गरिने चाकडीको खुलासा गरेका छन, खरेलले ।

यो पनि पढ्नुहोस  बस दुर्घटनामा परी १७ घाइते, आगलागीबाट १७ लाख क्षति

उनको जीवनको आरोह–अवरोह फोर्सको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखीझ्याल पनि हो । उनले तत्कालीन दरबार र पञ्चहरूको दबदबा देखे । २०३६ सालको प्रजातान्त्रिक आन्दोलन भोगे । २०४६ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप खेपे । प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरू र दलीय प्रवृत्ति, राज्यका विभिन्न संयन्त्रसँग दरबारको अन्तरसम्बन्ध, माओवादी र सरकारबीच हिंसात्मक द्वन्द्व लगायत परिवर्तनका धेरै लहर उनले सामना गरे । माओवादीसँग लड्न दरबारले प्रहरीलाई अत्याधुनिक हतियार नदिने र सेना परिचालन पनि नगर्ने जटिल परिस्थितिका उनी भुक्तमान हुन् । प्रहरी संगठनभित्र हाबी राजनीतिकरण उनले आफ्नै आइजिपी नियुक्तिमा बेहोरेका छन् । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरी संगठनको नेतृत्व सम्हालेका उनी दल, दरबार र सेनाबीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजीनामा दिएर विदा भएका थिए ।

अच्युतकृष्ण खरेलको आत्मकथाले एक प्रहरी अधिकृतको चौबीसघन्टे रापिलो यात्रा अनुभूति गराउँछ । सँगसँगै, त्यो बेलाको नेपालको खेलकुद क्षेत्रको दुरावस्था छर्लंग पार्छ। एक प्रहरी अधिकृत र खेलाडीका रूपमा खरेलको भोगाइलाई आजको अवस्थासँग तुलना गरेर हेर्दा धेरै वस्तुस्थिति दुरुस्तै छन् ।

‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भनेका छन्, ‘मेरो उद्देश्य जीवनको आरोह–अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्र हो ।’ प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ ।

पब्लिकेसन्स नेपालयले देशको राजनीतिक तथा सामाजिक विगतलाई उक्त कालखण्डका विभिन्न पात्रका माध्यमबाट बुझ्ने जमर्को गर्दै आत्मकथा शृंखला प्रकाशित गर्दै आएको छ । यो आत्मकथा त्यसैको निरन्तरता हो । इतिहासको ऐना भनेको त्यो इतिहासका पात्रको व्यक्तिगत भोगाइ नै हो । मान्छेको व्यक्तिगत भोगाइमा ऊ आफू बाँचेको समाजको मनस्थिति पनि सँगसँगै अभिव्यक्त भइरहेको हुन्छ ।

यो पनि पढ्नुहोस  ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म

खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनर्स्थापनापछिका केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियाल्न सहयोग पुग्ने पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन् । पुस्तक आगामी शनिबार ९असोज २० गते० सार्वजनिक हुँदैछ । सोहि दिन देखि पुस्तक अमेजोनको पी ओ डी ९प्रिन्ट अन डिमाण्ड० मार्फत संसारभर उपलब्ध हुने छ । पातलो गाता पुस्तक को मूल्य ६६५ रुपैयाँ र मोटो गाता पुस्तकको मूल्य ९९५ रुपैयाँ राखिएको छ ।

१७,आश्विन.२०७५,बुधबार १८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: