प्रवासबाटै नेपालको चुनावमा मतदान गर्ने अधिकार माग्दै, दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र

काठमाडौं । प्रवासी नेपालीले आफू बसेको देशबाटै निर्वाचनमा मतदान गर्न पाउनुपर्ने माग राख्दै सम्बन्धित देशमा रहेका दूतावासमार्फत ज्ञापनपत्र बुझाइएको छ ।

नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चले प्रवासबाटै मतदानको व्यवस्थान गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको मन्चका अध्यक्ष भक्त गुरुङले बताए ।

सोमबार एकैपटक दक्षिण कोरिया, अष्ट्रेलियालगायतका देशबाट ज्ञापनपत्र पठाइएको छ । प्रवासी नेपाली मञ्च कोरियाकी अध्यक्ष सृजना नेपालीले सियोलस्थित दूतावासमा ज्ञापनपत्र बुझाएकी छन् ।

त्यस्तै अष्ट्रेलियामा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय सचिव रमेश पाण्डे, ओशिनिया इन्चार्ज डा. विनोद श्रेष्ठ, अध्यक्ष राजु थापा, अष्ट्रेलिया अध्यक्ष केशव जोशीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको गुरुङले बताएका छन् ।

यूरोप, अमेरिका, एशियाका विभिन्न देशमा रहेका प्रवासी नेपालीहरूले आफ्नो अधिकारको अभियान आरम्भ गरेको उनले बताए ।

प्रवासी नेपाली मञ्चले नेपालको नागरिकता कायम रहेका तर अध्ययन र रोजगारीका सिलसिलामा प्रवासमा रहेकाहरुलाई सोही ठाउँबाट नेपालको निर्वाचनमा मतदानको व्यवस्था गर्न माग गरेको हो ।

यो माग एनअराएनमार्फत पनि अघि बढाइएको र संसदमा समेत छलफल भएको थियो ।

प्रवासी नेपाली मञ्चले नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै मतदाता बन्ने अधिकार माग गरेको छ । मञ्चले कूटनीतिक नियोगबाट प्रत्यक्ष वा पोष्टल भोटिङको व्यव्स्था गराउन र प्रवासी मतदातालाई प्रोक्सी भोटको अधिकार दिलाउन माग अभियान चलाएको हो ।

१०,माघ.२०७८,सोमबार १२:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्