Wednesday 22nd of January 2020

जीवनका लागि मृत्युसँग संघर्ष: आफूलाई आक्रमणकारीको जिम्मा लगाएर महिलाको ज्यान जोगाउने प्रहरी

फ्रान्समा शुक्रबार सुपरमार्केटमा भएको आतंककारी आक्रमणको क्रममा बन्दुकधारीबाट सर्वसाधारण नागरिकलाई जोगाउन आफैलाई आक्रमकारीको जिम्मा लगाउने प्रहरी अधिकारीको अवस्था गम्भीर रहेको राष्ट्रपति इम्यानुएल म्याक्रोनले बताएका छन् ।

दक्षिणी फ्रान्सको एक सुपरमार्केटमा शुक्रबार आफूलाई इस्लामिक स्टेट आइएसको कार्यकर्ता बताउने व्यक्तिले आक्रमणगर्दा तीनजनाको ज्यान गएको थियो । २५ वर्षको आक्रमणकारीको नाम रेडवाड ल्याकदिम रहेको प्रहरीले बताएको छ ।

आक्रमणकारीको कब्जामा रहेका सर्वसाधारण नागरिकलाई छुटाउन आफूलाई उसको जिम्मा लगाएका प्रहरी अधिकारी अ्रनाउड बेल्ट्रामी अहिले अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेको राष्ट्रपति म्याक्रोनले बताएका हुन् ।

आक्रमणमा १६ जना घाइते भएका छन्, जसमा दुईजनाको अवस्था गम्भीर रहेको छ । यो आक्रमण आतंककारी आक्रमण रहेको राष्ट्रपति म्याक्रोनको भनाई छ ।

आक्रमणकारी ल्याकदिमले सन् २०१५ को नोभेम्बर १५ मा पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको आक्रमणका एक मात्र जीवित आरोपी सालह अब्देशलाई रिहा गर्न माग गर्दै आक्रमण गरेको सरकारी अधिकारीको भनाई छ ।

शुक्रबार भएको आक्रमणमा ल्याकदिमको सहयोगी रहेको भनिएको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना कसरी भयो ?


आक्रमणको सुरुवात स्थानीय समय अनुसार शुक्रबार बिहान भएको हो । कारकासोन्नेमा ल्याकदिमले एक यात्रुको हत्या गरी कार नियन्त्रणमा लिएका थिए । त्यसपछि उनले आफ्ना सहकर्मीसँग जगिङ गरिरहेका एक प्रहरी अधिकारीलाई आक्रमण गरी घाइते बनाए ।

ल्याकदिमले त्यसपछि केही किलोमिटर पर ट्रेबेस शहरमा गएर त्यहाँ रहेको सुभर यु सुपरमार्केटमा आफू इस्लामिक स्टेट आइएसको कार्यकर्ता रहेको भन्दै आक्रमण सुरु गरेको र त्यहाँ रहेको नागरिकताई बन्धक बनाएको प्रहरीले बताएको छ ।

त्यहाँ आक्रमणकारीले एकजना ग्राहक र एकजना स्टोरका कर्मचारीमाथि आक्रमण गरी उनीहरुको हत्या गरेको प्रहरीको भनाई छ । अरु सबैलाई ती आक्रमणकारीले बन्धक बनाए ।

त्यहाँ रहेका प्रहरी अधिकारी अ्रनाउड बेल्ट्रामीले केही मानिसलाई सुरक्षित रुपमा बाहिर निकाल्न सफल भए । तर आक्रमणकारीले एक महिलालाई मानव ढालको रुपमा प्रयोग गरेका थिए । तर उनले ती महिलाको सट्टा आफूलाई आक्रमणकारीको जिम्मा लगाएका हुन् ।

त्यसक्रममा उनले आफ्नो मोबाइल फोन अन नै राखेका थिए, त्यहि आधारमा प्रहरीले त्यहाँ गएर जवाफी कारवाही गर्न सफल भयो । तर आक्रमणको क्रममा अ्रनाउड बेल्ट्रामी गम्भीर घाइते भए । उनी अहिले अस्पतालमा छन् ।

उनको अवस्था गम्भीर रहेको र जीवनका लागि संघर्ष गरिरहेको आन्तरिक मामिला मन्त्री जेरार्ड कोलोम्बले बताएका छन् । अ्रनाउड बेल्ट्रामीले आफ्नो बहादुरीबाट देश र नागरिकको नाम उचो बनाएको उनको भनाई छ ।

राष्ट्रपति म्याक्रोनले अ्रनाउड बेल्ट्रामीले धेरैको जीवन जोगाएको र आफ्ना सहकर्मी तथा देशलाई सम्मानित बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्