Tuesday 18th of February 2020

अमेरिकालाई चीनको जवाफ: १२८ अमेरिकी सामानको सीमा शूल्क २५ प्रतिशत बढ्यो

काठमाडौं । चीनले अमेरिकालाई जस्तालाई त्यस्तै जस्तो जवाफ दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिका निर्यात गर्ने सामानमा सीमा शूल्क बढाएपछि चीनले पनि अमेरिकाले आफ्नो देशमा निर्यात गर्ने सामानमा २५ प्रतिशतसम्म शूल्क बढाएको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा निर्यात शूल्क बढाएका थिए । त्यसपछि अमेरिकाले आयात गर्ने वा चीनले अमेरिकामा निर्यात गर्ने सामानको शूल्क बढेको छ ।

अहिले आएर चीनले अमेरिकाले चीनमा निर्यात गर्ने अर्थात चीनले अमेरिकाबाट आयात गर्ने १२८ सामानको शूल्क २५ प्रतिशतसम्म बढाएको हो ।

यसमा सुँगुरको मासु तथा रक्सीसहितका सामान रहेका छन् । यसको अर्थ ३ बिलियन अमेरिकी डलर भन्दा बढीको प्रभाव अमेरिकी अर्थतन्त्रमा पर्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशले अमेरिका निर्यात गर्दै आएका स्टील तथा आल्मुनियमका सामानको सीमा शूल्क बढाएका थिए ।

चीनले त्यसको जवाफ अमेरिकी सामानको निर्यात शूल्क बढाएर दिएको हो । चीनले चिनियाँ सामानको हित तथा आफ्नो अर्थव्यवस्थाको व्यवस्थापनका लागि नयाँ कदम चालिएको बताएको छ ।

चीनको पछिल्लो कदमले चिनियाँ बजारमा अमेरिकी सामानको मूल्य बढ्ने देखिएको छ । यसको अर्थ अमेरिकी सामान बजारमा प्रतिस्पधामा उत्रिन थप समस्या हुनेछ ।

अमेरिकाले यसअघि चिनियाँ समानको निर्यात शूल्क बढाएर अमेरिकी बजारमा चिनियाँ समानलाई प्रतिस्पर्धाका लागि समस्या उत्पन्न गराएको थियो ।

पछिल्लो कदमले विश्वका दुई ठूला अर्थव्यवस्था भएका देशबिच व्यापार युद्धको अवस्था आउने देखिएको छ । अमेरिकाले बढाएको निर्यात शूल्कबाट आफूले भोग्नु परेको घाटा कम गर्न वा त्यसलाई व्यवस्थापन गर्नका लागि आफूहरुले पनि अमेरिकी समानको चीनमा निर्यात शूल्क बढाएको चीनको भनाई छ ।

विश्लेषकले अमेरिकी राष्ट्रपति ट्रम्पले मार्चको सुरुमा गरेको अमेरिकामा निर्यात हुने सामानको सीमा शूल्क बढाउने निर्णयले विश्वमा व्यापार युद्ध आउने चेतावनी दिएका थिए ।

तर ट्रम्पले भने आफूले व्यापार युद्ध नै चाहेको बताएर पछि हट्न मानेनन् । चीनले भने आफूले व्यापार युद्ध नचाहेको बताएको थियो तर आफ्नो अर्थतन्त्रमा असर परेमा चुप नबस्ने पनि उसले बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्