Sunday 16th of June 2019

सेनाको हतियार स्वदेशमै हतियार उत्पादन गरिने

[mashshare]

काठमाडौं । नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ ।

प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो । नीतिमा सेना र प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ । सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ ।

सुरक्षा निकायको पुनःसंरचना गर्ने व्यवस्था नीतिमा छ । पुनर्संरचना गर्दा जनसंख्या, भौगोलिक जटिलता र भूराजनीतिलाई ध्यान दिइने छ ।

तत्कालीन राजा वीरेन्द्रले नेपालमै अत्याधुनिक हतियार प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएका थिए । यसका लागि उनले जर्मनीसँग सहकार्य अघि बढाएका थिए । उनले राजधानीको सुन्दरी जल क्षेत्रमा जग्गा छुट्याएका थिए ।

स्वदेशमै हतियार उत्पादन गरी अन्तर्राष्ट्रिय सेनालाई प्रशिक्षण दिने योजना वीरेन्द्रको थियो । योजना नसकिँदै उनको वंशनाश भयो । त्यसपछि यो काम अलपत्र छ ।

नीतिमा सुरक्षा निकायलाई व्यस्त राख्न र चेन अफ कमान्डमा हिँडाउने व्यवस्था छ । अधिकांश मुलुकमा सेनालाई विकास परियोजनामा लगाउने प्रचलन छ । सुरक्षा नीतिमा पनि सुरक्षा निकायलाई विकास निर्माणका काममा व्यस्त बनाउनुपर्ने सुझाव छ ।

सरकारले मुलुकभित्र सीमा सुरक्षा, बैंक तथा वित्तीय संस्था र सुरक्षा निकायलगायतले प्रयोग गर्ने हतियारको मापदण्ड तोक्ने निर्णय यसअघि नै गरिसकेको छ । सार्वजनिक पद धारण गरेका व्यक्ति र राजनीतिक नेताहरूले विदेशीसँग गर्ने भेटघाटलाई सुरक्षा परिषद्ले नियमन गर्ने व्यवस्था नीतिमा छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति सुरक्षामा योगदान दिँदै आएको नेपाली सुरक्षा निकायलाई थप चुस्त पार्नुपर्ने प्रस्ताव नीतिमा छ ।

प्रतिक्रिया दिनुहोस्