Monday 22nd of April 2019

प्रहरीको १०० नम्बरमा थरीथरीका फोन, बाबु–आमाको झगडादेखि आत्महत्याका सूचनासम्म

काठमाडौं । प्रहरीको कन्ट्रोल नम्बर १०० मा अपरिचित मोबाइल नम्बरबाट एउटा सन्देश आयो । सन्देशमा लेखिएको थियो, ‘सर मेरो मम र ड्याड फाइट गरिरहनु भएको छ ।

छिटो आउनुस् ।’ प्रहरीले सन्देशमा उल्लिखित नम्बरमा फोन गर्दा सीतापाइलामा एक दम्पती झगडा गरिरहेको पत्ता लाग्यो । र तत्कालै स्वयम्भूको कन्ट्रोल रुम भेहिकल (सीआरभी) टोलीलाई पठाएर समस्या समाधान गरियो ।

अर्को सन्देश धम्कीबारे थियो । धम्की दिने व्यक्तिको नम्बर राखेर सन्देशमा भनिएको थियो, ‘यो नम्बरको मान्छेले मलाई दबाब धेरै दियो । अनुसन्धान गर्नुहोला ।’ प्रहरीले बुझ्दा नुवकोटमा भएको घटना रहेछ । जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरीलाई घटनाबारे जानकारी गराएर धम्की दिने व्यक्तिलाई सचेत गराइयो ।

अर्को डरलाग्दो सन्देश गत मंसिर २८ गते आएको थियो । सन्देशमा प्रहरीलाई सम्बोधन गरेर आत्महत्या गर्न लागेको उल्लेख थियो । तत्कालै महानगरीय प्रहरी अपराध महाशाखाले म्यासेज आएको नम्बरको लोकेसन ट्रयाक गर्‍यो । र विराटनगरको ट्राफिक चोकबाट आएको पत्ता लाग्यो । प्रहरी प्रधान कार्यालयको परिचालन कक्षबाट असई कला पण्डितलाई फोन गरेर घटनाबारे बुझ्न लगाइएको थियो ।

उल्लिखित सन्देश प्रहरीको १०० नम्बरमा आएका हुन् । असोजदेखि १०० मा सर्वसाधारणको सन्देश लिन सुरु गर्ने भनिए पनि मंसिरमा मात्र त्यसको औपचारिक उद्घाटन गरिएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता सन्देश हेर्न छुट्टै डेस्क स्थापना गरिएको छ ।

मंसिरदेखि १०० मा ४० हजार ५ सय ३५ वटा सन्देश आएका छन् । सन्देशमा कोहीले तुरुन्त सुरक्षा चाहिएको, सार्वजनिक बसले सम्बन्धित स्थानमा नरोकिदिएको, होटलको होहल्ला, मोटरसाइकल, मोबाइल चोरी भएको, महिला हिंसाका घटना, जुवातास खेलेको, शव फेला परेको, ट्याक्सी मिटरमा जान नामानेकोलगायत विषय उल्लेख छन् ।

१०० नम्बरमा सन्देश आउने व्यवस्था भएपछि धेरै अपराधका घटनाबारे सूचना पाएको महानगरीय प्रहरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनका अनुसार केही सन्देश भने झुटा छन्। ‘झगडा भयो भनेर सन्देश आउँछ ।

तर प्रहरी पठायो, केही भएको हुँदैन’, ज्ञवालीले भने, ‘झुटा सन्देश पठाउनेलाई हामीले सचेत पनि गराएका छौं ।’ सत्य सूचनामा प्रहरी कारबाही प्रभावकारी भएको उनको दाबी छ । सेवाग्राहीले पठाएको सन्देश जस्ताको तस्तै सम्बन्धित प्रहरी कार्यालय प्रमुखलाई पठाउन पाइएकाले सेवाग्राहीले सक्दो छिटो सेवा पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्