Monday 22nd of April 2019

जोखिमपूर्ण रोग परीक्षण गर्ने देशकै एक मात्र ल्याब प्रयोगविहीन

काठमाडौं । विश्वमै खतरनाक मानिएका भाइरसले निम्त्याउने जोखिमपूर्ण रोग परीक्षणका लागि नौ वर्षअघि स्थापना गरिएको देशकै एक मात्र उच्चस्तरीय ल्याब प्रयोगविहीन बनेको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सन् २०१० मा विश्व बैंकको सहयोगमा स्थापना भएको बायो सेफ्टी लेभल थ्री (बिएसएल थ्री) ल्याब प्राविधिक कर्मचारीको अभावमा नियमित सञ्चालन हुन नसकेको हो ।

प्रयोगशालाका उपनिर्देशक डा. विष्णुप्रसाद उपाध्यायले जोखिमजन्य रोग देखा पर्न थालेपछि प्रयोगशालाको स्थापना गरिएको, तर दक्ष तथा अनुभवी कर्मचारीको अभावमा नियमित सञ्चालन गर्न नसकिएको बताए ।

श्वासप्रश्वाससम्बन्धी रोग फैलाउने सार्स भाइरस, इन्फ्लुएन्जा (फ्लु), इबोला, टोगाभाइरस, हेजमोराइज फिभर, निफा, क्यु फिभर, प्लेगलगायतको नमुना परीक्षणका लागि ल्याब स्थापना गरिएको हो । सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले समेत ल्याब प्रमाणीकरण गरिसकेको छ । ल्याबको उपकरणमा मात्रै चार करोड ५० लाख खर्च भएको छ ।

ल्याब सञ्चालनका लागि बेग्लै टिम चाहिन्छ
डा. विष्णु उपाध्याय–उपनिर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
बिएसएल थ्री ल्याब स्थापनाको तीन वर्षपछि सन् २०१३ मा मेरो जिम्मामा आएको हो । त्यति वेलासम्म माकुराले जालो लगाइसकेको थियो ।

त्यसपछि पनि नियमित सञ्चालन गर्न असमर्थ छौँ । जटिल परीक्षण गर्नुपरे त सकिन्छ, तर नियमित सञ्चालनका लागि बेग्लै जनशक्ति चाहिन्छ । सरकारले अहिलेसम्म कर्मचारीको व्यवस्था गरेको छैन ।

भ्याक्सिन नै नभएका रोगसँग ल्याबका कर्मचारी जोखिमपूर्ण रूपमा जुध्नुपर्छ । यसका लागि छुट्टै दक्ष टिम आवश्यक पर्छ र जोखिम मोल्ने कर्मचारीका लागि ल्याबभित्र विशेष सुविधा व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्