‘प्रेम छोटाका बहुआयाम’ सार्वजनिक

काठमाडौं । साहित्यकार एवम् संस्कृतिकर्मी प्रेम छोटाको व्यक्तित्व र कृतित्व समेटिएको ग्रन्थ ‘प्रेम छोटाका बहुआयाम’ सार्वजनिक भएको छ । ‘दीअ’ प्रकाशन–रत्न श्रेष्ठ पुरस्कार गुठी, बागलुङ र शमी साहित्य प्रतिष्ठान, काठमाडौँद्वारा उक्त ग्रन्थ प्रकाशनमा ल्याइएको हो ।

अघिल्यै वर्ष ग्रन्थ ल्याउने तयारी गरिएपनि कोरोनाका कारण ढिलाइ भएको गुठीले जनाएको छ । निषेधाज्ञाका कारण ग्रन्थको औपचारिक विमोचन भने हुन सकेन । ‘भर्चुअल’ माध्यमबाट ग्रन्थ सार्वजनिक गरिएको गुठीका सदस्य सचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो । पुस्तकमा छोटा र उहाँका सिर्जनाबारे ११९ जना लेखकका लेख÷समालोचना सङ्ग्रहित छन् ।

छैहत्तर वर्षीय छोटा संस्कृतिको खोज र अनुसन्धानमा ४८ वर्षदेखि सक्रिय छन । उनका लोक संस्कृतिमा मात्रै आधारित १२ वटा कृति प्रकाशित छन् । कविता, कथा, सम्पादन हुँदै संस्कृति खोजलाई छोटाले आफ्नो मूल सिर्जनाकर्म बताए ।

अझै २५ कृति प्रकाशोन्मुख अवस्थामा रहेको छोटा बताए । उनले आफ्नो जीवनलाई सम्पूर्ण रुपमा वाङ्मय सेवामा लगाउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञसभा सदस्यसमेत रहनुभएका छोटाले राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय नागरिक स्वर्ण सम्मानलगायत कैँयन पुरस्कार तथा सम्मान प्राप्त गरेका छन ।

विसं २००२ मा बागलुङ बजारमा जन्मनुभएका छोटाले विसं २०३४ सालमा स्थापना गरेको रत्न–श्रेष्ठ पुरस्कार गुठी राजधानी बाहिरको सबैभन्दा पुरानो पुरस्कार संस्था मानिन्छ । विसं २०१६ मा ‘असम्भव के रु’ कवितामार्फत उनले आफ्नो लेखन यात्रा शुरु गरेका थिए ।

१६,जेष्ठ.२०७८,आईतवार १९:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्