इजरायलका विपक्षी नेताले इमेलमा पठाए आफूसँग बहुमत भएको दाबी, राष्ट्रपतिले तत्कालै बधाई दिए फोनमा

एजेन्सी । दुई वर्षमा चार पटक आमनिर्वाचन भएको इजरायलमा विपक्षी गठबन्धनका दलहरू १२ वर्षदेखि प्रधानमन्त्री रहेका बेन्यामिन नेतन्याहूलाई सत्ताबाट हटाउने सहमतिमा पुगेका छन्।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनु ३५ मिनेटअघि बुधबार विपक्षी नेता याइर लापिडले इमेलमार्फत् आफूहरू नयाँ सरकार बनाउने सहमति पुगेको जानकारी दिएका थिए।

उनको इमेलमा लेखिएको थियो, ‘नयाँ सरकार बनाउन सफल भएको जानकारी तपाईंलाई गराउन पाउँदा म खुसी छु।’

समाचार संस्था रोयटर्सका अनुसार लापिडको इमेल आएका बेला राष्ट्रपति रेउभेन रिभलिन फुटबल हेरिरहेका थिए। उनले तत्कालै टेलिफोन गरेर लापिडलाई बधाई दिए।

विपक्षीहरूबीच भएको सहमतिअनुसार लापिडका मुख्य सहयात्री नाफ्ताली बेनेट अब प्रधानमन्त्री हुनेछन्। दुई वर्षपछि उनले लापिडलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ।

उनीहरूको गठबन्धनमा अन्य साना तथा मझौला दलहरू पनि सहभागी छन्। पहिलो पटक इजरायलका अरब अल्पसंख्यको पार्टी युनाइटेड अरब लिस्ट पनि सरकारमा सहभागी हुनेछ।

संसदमा झिनो बहुमतमात्र हुने विपक्षी गठबन्धनको सरकारले सपथ लिन भने अझै १०-१२ दिन कुर्नु पर्नेछ। त्यतिञ्जेलसम्म प्रधानमन्त्री नेतान्याहुले विपक्षी सांसदलाई आफूतिर तानेर उनीहरूको गठबन्धन भत्काइदिन सक्ने सम्भावना पनि छ।

इजरायलका राजनीतिक विश्लेषकहरूले बाँकी रहेको यो समयमा आफू सत्तामा टिकिरहन नेतन्याहुले सकेजति सबै प्रयास गर्ने बताएका छन्। यसअघि नै उनले विपक्षी गठबन्धनको सरकार बने राष्ट्रिय सुरक्षा खतरामा पर्ने बताइसकेका छन्।

मार्च २३ मा भएको पछिल्लो निर्वाचनको परिणामअनुसार १२० सदस्यीय इजरायलको संसद कुनेसटमा नेतन्याहुको लिकुड पार्टीको ३० सिट छ। उनले अरू तीन वटा धार्मिक र राष्ट्रवादी पार्टीहरूसँग गठबन्धन गरेका छन्।

१२ वर्ष सत्तामा रहँदा प्रधानमन्त्री नेतन्याहूमाथि विभिन्न आरोप लागेका छन्। उनी यस्ता प्रधानमन्त्री हुन् जसको भ्रष्टाचार मुद्दामा अनुसन्धान पनि भइरहेको छ र उनी प्रधानमन्त्रीको कुर्सीमा पनि कायम छन्।

पछिल्लो समय उनलाई बाह्य समस्या पनि थपिएका छन्। अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि नेतन्याहूलाई प्यालेस्टाइन र इरानसँगको सम्बन्ध डोनाल्ड ट्रम्पको पालामा जसरी कायम राख्न असम्भव देखिएको छ। ट्रम्पले नेतन्याहूलाई धेरै नै सहयोग गरेका थिए भने बाइडेनले त्यसो गर्ने देखिँदैन। केही दिनअघि इजरायलले गाजामा गरेको रकेट आक्रमणको पनि अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ।

विपक्षी गठबन्धनहरू सरकार बनाउने सहमतिमा पुगेपछि नेतन्याहूका आलोचकहरूमा खुसीयाली छाएको छ।

२०,जेष्ठ.२०७८,बिहीबार ०७:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्