कान्छा !

कान्छा !
सके तिमीलाई मन्त्री बनाउँछु
नसके तिम्रीलाई मन्त्री बनाउँछु
त्यो पनि सकिन भने,
तिम्री बाहिरियालाई मन्त्री बनाउँछु
मन्त्री बनाउँछु बनाउँछु
कान्छा, चिन्तै नगर !
मै हुँ महाराज अहिले
मै हुँ जङ्ग बहादुर अहिले
मैले जे गरे पनि हुन्छ
जसो गरे पनि हुन्छ
हेरौँ मलाई कसले छुन्छ !
ढुक्क भएर मेरो भर पर
मलाई विश्वास गर
म मन्त्री बनाउँछु बनाउँछु
राजदूत र अन्य पद बाँकी नै छन्
नभए अध्यादेश ल्याउँछु
साला, साली, धर्म छोरा, छोरी
आसे पासे, नाल नाता, ससुराली
खेर फाल्ने छैन कसै गरी
आलो पालो, सबैलाई गर्छु
मलाई विश्वास गर
म मन्त्री बनाउँछु बनाउँछु
नपत्याए हेर आजको लिस्ट !
तिमी राष्ट्रघाती होऊ या जे सुकै होऊ
मलाई समर्थन मात्र गर
मेरो आरती मात्र उतार
कान्छी, मलाई विश्वास गर
म मन्त्री बनाउँछु बनाउँछु !
– रामप्रसाद खनाल, जुन १०, २०२१

२८,जेष्ठ.२०७८,शुक्रबार ०७:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्