अघिल्लो वर्षभन्दा दोब्बर रोपाइँ

दुल्लु । अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरी भ्याएका छन् ।

दैलेखमा अधिकांश धानखेती गरिने जमीनमा सिँचाइको अभाव हुँदा गत वर्ष आकासेभरमा साउन अन्तिमसम्म रोपाइँ गर्नुपर्ने किसानलाई बाध्यता रहिआएको थियो । गत वर्ष दैलेखमा असार १५ गतेसम्म करीब ३५ प्रतिशतमात्र किसानले रोपाइँ गरे पनि यस वर्ष दोब्बर करीब ७० प्रतिशत रोपाइँ गरिसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए ।

समयमै मनसुन भित्रिएसँगै पानी निरन्तर पर्दा किसानले रोपाइँ छिट्टै गर्न भ्याएको उनको भनाइ छ । आकासेभरमा बीउ राख्ने र साउन अन्तिममा हुने रोपाइँ पनि यस पटक पानी समयमै परेका कारण किसानले रोपाइँ गर्न सफल भएका उनले बताए ।

जहिले पनि साउन २७ गते रोपिने खेत यस वर्ष असार १३ मै गर्न सफल भएको किसान वीरबहादुर गिरीले बताए । उनले भने “मेरो बाजेको पालादेखि त्यही दिन रोपाइँ गर्ने नियम र पालो थियो तर यस वर्ष असारमै रोपाइँ गर्न पाउँदा खुशी भएको छु ।” उनको मात्र होइन अहिले साउन अन्तिममा गरिने रोपाइँ असारमा गर्ने धेरै किसान छन् । दैलेखमा छ हजार ५१७ हेक्टर जमीनमा धानखेती गरिने पाण्डेले बताए।

१६,असार.२०७८,बुधबार १३:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्