थाँक्रे गाउँपालिका – २ र ११ जोड्ने सिम्ले महेशखोलामा भर्खरै ढलान सम्पन्न भएको पक्की पुल बगायो

धादिङ । अविरल वर्षापछि आग्रा र महेश खोलामा आएको ठूलो बाढीले गएराति थाँक्रे गाउँपालिका—२ र ११ जोड्ने सिम्ले महेशखोलामा भर्खरै ढलान सम्पन्न भएको पक्की पुल बगाएको छ ।

अविरल वर्षाका कारण आग्रा खोलामा आएको बाढीले खोला किनारमा बसेका १३४ मजदूर परिवारको बिचल्ली भएको छ ।सबै मजदूरलाई राति नै उद्दार गरी सुरक्षित ठाउँमा राखिएको जनजागृति माध्यमिक विद्यालयका रामचन्द्र रुपाखेतीले बताए ।

खोलामा ढुङ्गा झिक्ने, गिट्टी कुट्ने मजदूरहरु आग्राखोला किनारमा छाप्रो बनाई बस्ने गरेका थिए । अविरल वर्षासँगै खोलामा बाढी आएपछि उनीहरुको भागाभाग भएको थियो ।

उनीहरुलाई स्थानीयबासीको सहयोगमा खोला किनारबाट उद्दार गरी गाउँमा सारिएको थियो ।
तीन दिनदेखिको अविरल वर्षाले जिल्लामा जताततै पहिरो गएको प्रहरीले जनाएको छ ।

राजमार्गको गल्छी, बैरेनी, जरे, गजुरी, मलेखु, बेनीघाट, जोगिमारा तिकराङ तथा मौवाखोला क्षेत्रमा पहिराले सडकमा अवरोध पु¥याएको छ । सडकमाथि खनिएका सहायक मार्गहरुबाट आएको लेदोले कल्भर्टहरु भरिएर भल सडकमा आएपछि राजमार्ग क्षेत्र क्षतिग्रस्त भएको र सफा गर्ने काम पहिरो रोकिएपछि गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।

१९,असार.२०७८,शनिबार १३:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्