नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।

यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको स्रोतको भनाइ छ । नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले भने बैठकमा सहभागी हुन निम्तो दिएका थिए । तर ओली र नेपाल आ–आफ्नो अडानमा कायमै छन् । अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए । उक्त बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनीयुक्त डेडलाइन दिएका हुन् ।

अध्यक्ष ओलीले शनिबार पनि बैठक बोलाएका छन् । तर माधव नेपाल समूह यो बैठक अवैध भएको सहभागी नहुने अडानमा छ । दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

अहिले पनि दोस्रो तहका नेताहरु ललितपुरस्थित समिट होटलमा छलफलमा छन् । त्यहाँ नेताहरुबीच संवाद भएपछि उपमहासचिव घनश्याम भुसाल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । भुसालले माधव नेपाल निवास पुगेर दुई नेताबीच टेलिफोन सम्वाद गराएका एक नेताले बताए ।

ओली र नेपालबीच टेलिफोन कुराकानी भएपछि भुसाल समिट होटल फर्किएका छन् । घनश्याम भुसाल कोटेश्वर पुगेपछि दुई नेता बीच टेलिफोनमा कुराकानी भएको छ । फेरि पनि हामी छलफलमा बस्छौं’, समिट होटलमा रहेका एक नेताले बताए ।

१९,असार.२०७८,शनिबार १४:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्