एमालेबाट निर्वाचित चन्द्रागिरिका जनप्रतिनिधिद्वारा पार्टी नफुटाउन दबाब

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरि नगरपालिकाको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले दबाब दिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् ।

‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाडौं क्षेत्र नं १० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिए । महर्जन चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नं ११ का वडा अध्यक्षसमेत हुन् ।

‘यो दबाबले नेकपा एमाले टुटफुट नभई एकताबद्ध बनाउन र पुष्पलाल, मनमोहन, मदन भण्डारीले देखेको सपना पूरा गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ’, उनले भने ।

चन्द्रागिरि काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । चन्द्रागिरिमा स्थानीय तहको निर्वाचनमा उपप्रमुखसहित नेकपा एमालेका ५८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

२०,असार.२०७८,आईतवार ११:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्